यसरी गुमाए विमान दुर्घटनामा १९ जनाले ज्यान (भिडियो पनि)
असोज १२ – आज बिहानै ६ बजेर १५ मिनेट जाँदा नै नेपाली आकाशमा एउटा ठूलो दुर्घटना भयो । त्यो पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भक्तपुरको मनहरा बस्तीमा ।
त्यहाँ आज लुक्लाका लागि उडेको सीता एयरको डोर्नियर विमान दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित १९ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा चालक दल सदस्यमा क्याप्टेन विजय तन्डुकार, टी थापा खुल्न आएको छ भने अन्य कसैका पनि पहिचान खुलेको छैन । उक्त विमान पर्यटक बोकेर लुक्लाका लागि उडेको जनाइएको छ । तर सबै शव जलेको अवस्थामा रहेकाले अहिले पहिचान भने खुल्न नसकेको हो ।
कसरी भयो त दुर्घटना :
उक्त विमान उडेको २ मिनेट बित्न नपाउँदै दुर्घटनामा परेको हो । स्थानीयहरुका अनुसार उक्त विमान खाली ठाउँमा अवतरण गर्दा सकुशल रहेको थियो त्यतिबेला सम्म विमानभित्रबाट चिच्याहटको आवाजसमेत सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
तर विमान अवतरणपछि भने लागेको आगोले जलेर उनीहरुको ज्यान गएको हो ।
घटनाको प्रकृति हेर्दा विमान उडीसकेपछि त्यहाँ प्राविधिक समस्या देखिएकाले चालकले उक्त विमानलाई पुनः त्रिभुवन विमानस्थलमा फर्काउने खोजेको तर नसक्ने अवस्था आएपछि खाली ठाउँ भक्तपुरको मनहरा बस्तीको खाली ठाउँमा अवतरण गरिएको देखिएको छ ।
सो वस्ती नजिकै मनहरा खोला पनि छ । चालकले विमानलाई खोलामा नै खसाउन खोजेको हो कि भन्ने पनि अनुमान गर्न सके पनि उनले खाली ठाउँमै विमान अवतरण गरेका थिए ।
तर, विमान जब खाली ठाउँमा अवतरण भयो त्यसपछि भने त्यहाँ करिब ४१ मिनेट जति विमानमा आगलागी भएको थियो त्यसपछि भने मात्रै उद्धारका लागि त्यहाँ दमकलका साथै सेना, प्रहरी पुगेका थिए ।
उक्त विमान दुर्घटनाबारे अहिले नै एकिन तथ्य नखुले पनि विमान चेक जाँच नगरी उडाउँदा उक्त दुर्घटना भएको अनुमान धेरैको छ ।
यसैबीच, उक्त विमान चरामा ठोकिएकाले दुर्घटनामा परेको पनि जनाइएको छ । तर पुष्टि हुन भने बाँकी छ ।
प्रकाशित मिति:
September 28, 2012