दीपशिखा
'बस्नेत प्रक्रियामा म गम्भीर र सचेत छु । उनको बढुवा सरकारले गर्दैन, तर कारबाहीका हकमा भने द्वन्द्वकालका सबै मुद्दा सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत सम्बोधन गरिनेछ ।'
यो उद्गार हाम्रा प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले केही समयअघि व्यक्त गरेका हुन् । बेपत्ता परिवारको प्रतिनिधित्व गर्दै बस्नेतको बढुवा नगर्न भनी प्रधानमन्त्रीकहाँ गएका अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष हिमाल शर्मासँग यसो भनिएको दुई महिना पनि नपुग्दै उनै प्रधानमन्त्री भट्टराईले बिहीबार बस्नेतको
बढुवा गरिदिए ।
बस्नेत अर्थात् नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल राजु बस्नेत । उनीमाथि द्वन्द्वकालमा भैरवनाथ गणबाट ४९ माओवादी नेता तथा कार्यकर्ता बेपत्ता पारिएको अभियोग छ । उनलाई संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । सन् २००६ मा गरिएको यो अनुरोधसँगै विभिन्न मानवअधिकारसम्बन्धी संस्थाले उनका बारेमा पटक-पटक सरकारको ध्यानाकृष्ट मात्रै गराएका छैनन्, खबरदारीसमेत गर्दै आएका छन् ।
बस्नेतको बढुवाको समाचार अन्य समाचारभन्दा सनसनीपूर्ण हुनु स्वाभाविकै थियो र त्यसैगरी आयो । यो समाचर सुनेलगत्तै जनयुद्धकालमा बेपत्ता पारिएका एक योद्धाकी आमाले यो पंक्तिकारलाई फोन गरिन् र भनिन्, 'बाबुराम बिकेको सत्य रै'छ ।' ती आमा अरू बोलिनन् र फोनमा निकैबेर रोइरहिन् ।
बाबुराममाथि जनहितविपरीत काम गरे भन्ने थुप्रै आरोप छन् । उनीमाथि लागेका अन्य आरोपबारे उनले खण्डन गर्लान् र सफाइको मौका पनि पाउलान् । थापाथलीका सुकुम्बासीमाथि डोजर चलाउने उनको अनुदारता र बर्गप्रतिको उदासीनता हेरी यसअघि नै जनता झस्केका थिए नै । हामीलाई पनि लाग्यो, 'ए गाँठे क्या हो हँ ?'
उनीमाथि विमानस्थल भारतीयलाई दियो भन्ने आरोप छ । उनले यसबारे पटक-पटक खण्डन गरिसकेका छन् । तर, हावा नचली पात हल्लिएको मान्नै सकिन्नथ्यो, दुनियाँले मानेन । बिप्पा राष्ट्रिय हितविपरीत भयो भन्दै एमाओवादीकै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उनीमाथि खनिएपछि अरूले के बुझ्ने ? यो उनैले जानून् ।
घटनाहरूले उनी निर्दयी र अनुदार भएको प्रमाणित मात्रै गर्दैनन्, उनी एक्लै जित्न चाहन्छन् भन्ने पनि देखाउँछन् । राजनीतिमा एक्लै जित्ने हठ गर्नु पुराना कालिदास बिर्साउनु हो । अलि पहिला जनादेशका सम्पादक कोमल बराललाई आफू प्रचार इन्चार्ज रहँदा मध्यरातमा गरिएको बर्खास्तगी उनको प्रधानमन्त्री हुनुअघिको निर्दयता थियो । यो घटना पनि आफू सैनिक नेतृत्वअघि साखिल्लो पल्टेर जित्ने र पार्टीलाई हराउने उनको माथि भनिएझैँ 'एक्लै जित्ने' सनक त होइन ?
उनले बस्नेतको बढुवा गर्दा पार्टीलाई सोधे कि सोधेनन् ? एमाओवादी बोलिसकेको अवस्था छैन । सोधे पनि र नसोधे पनि उनले गरेको यो बढुवा जनयुद्ध र १० हजार मान्छेको रगतमाथिको अपमान हो । उनले बस्नेतका अनुहारमा ४९ बेपत्ता योद्धाका रगतका छिर्का किन देखेनन् ? यो उनको कथित बौद्धिकतामा खिया परेको र जनयुद्धकालीन लासमाथि खित्खिताएको विद्रूप परिदृश्य हो ।
केही समयअघि अमेरिकाले एमाओवादीलाई आतंककारीको सूचीबाट हटाउँदै भन्यो, 'उसको (माओवादीको) विगत सजिलै भुल्न सकिन्न ।' उसले विगत भुल्न सकिन्न भन्नुको अर्थ अन्य थुप्रै कारण भए पनि अमेरिकी दूतावासका दुईजना नेपाली कर्मचारी जनयुद्धकालमा मारिएपछिको पक्षधरता थियो त्यो । हामीले साम्राज्यवादी भन्दै आएको अमेरिकाले आफ्ना दुई विदेशी कर्मचारीका पक्षमा वर्षौंपछि पनि बोलिरहँदा सर्वहारा भनिने बाबुरामले आफ्ना १० हजार सहकर्मीको रगत र हजारौँ बेपत्ता योद्धाको आर्तनादलाई कसरी भुले ?
एमाओवादीका नेता तथा सञ्चारमन्त्रीसमेत रहेका अग्नि सापकोटालाई कनकमणिहरूले सर्वोच्चमा उभ्याएको लामो समय भएको छैन । काभ्रेका एक 'सुराकी' मारिएको आरोप उनीमाथि लगाइँदा बाबुराम आफैँ प्रधानमन्त्री थिए । उनले आफ्ना नेता तथा सञ्चारमन्त्रीलाई सर्वोच्चमा घिच्याइरहेका केही अतिवादीको रौनक सिंहदरबारको अट्टालिकामा बसेर हेरिरहे, केही गरेनन् । पूर्वसभासद् बालकृष्ण ढुंगेलहरू जनयुद्धकालमा घटेको घटनामा दोषी साबित गरिँदा बाबुरामले केही गर्न खोजेझैँ मात्र गरे ।
ढुंगेलका भन्दा हजार गुणा बढी प्रमाण भएका र मानवअधिकार आयोगलगायत संस्थाले कारबाही सिफारिस गरेका बस्नेतलाई बढुवा गर्नैपर्ने के त्यस्तो बाध्यता थियो उनीमाथि ? बरु बाबुरामको पक्षमा नेपालका मिडियादेखि जनता हुँदै मानवअधिकारवादी संघसंस्थासमेत थिए ।
उनीमाथि एउटै दबाब हुन सक्छ, त्यो भनेको नेपाली सेनामा भर्खरै बहाल अनुदार छवि बनाएका सैनिक नेतृत्वको चेतावनी । उनले भुल्न हुन्नथ्यो त्यो चेतावनीभन्दा ठूलो हजारौँ बेपत्ता योद्धाको आत्मा थियो । उसै पनि सैनिक नेतृत्वको वेलाबखतको जबर्जस्ती र फौजी 'मुड'विरुद्ध पछिल्ला प्रधानमन्त्रीले समेत चुनौती दिएको हाम्रो इतिहास थियो ।
०५८ मा एमाओवादीविरुद्ध सेना परिचालन गर्ने आदेश दिने नेेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सेनाले आफ्नो आदेश नमानेको भन्दै राजीनामा दिए । केही वर्षअघि मात्रै कटवाल प्रकरणमा तत्कालीन सैनिक नेतृत्वको अस्वाभाविक बलमिच्याइँविरुद्ध तत्कालीन प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष प्रचण्डले पनि राजीनामा दिएका थिए ।
क्रान्तिकारी नेताको हैसियतमा प्रचण्डको राजीनामा स्वाभाविक मान्न सकिए पनि कोइरालाबाट राजीनामा अनुमानविपरीत थियो । दुनियाँलाई आश्चर्यमा पार्ने राजतन्त्रकालीन अवस्थामा समेत सेनाको जबर्जस्ती र सरकार अधिनमा बस्न नमान्ने प्रवृत्ति राजावादी कोइरालाले समेत अस्वीकार गरेको धेरै भएको छैन । त्यतिखेर सैनिक नेतृत्व प्रत्यक्ष राजाकै हातमा थियो । त्यस्तो प्रतिकूल अवस्थामा समेत सैनिक नेतृत्वको फौजी दम्भविरुद्ध विद्रोह गर्ने कोइरालाको इतिहास सायद विद्वान् बाबुरामले भुले त नभनौँ, पक्कै छल्न खोजे । के त्यसो हो भने कोइरालाभन्दा बाबुराम जनविरोधी हुन् त ? यसको जवाफ उनैले दिनुपर्छ ।
सुकुम्बासीलाई अर्को ठाउँ दिन्छु भन्दा मान्लान् र प्रम बाबुरामले उनको मन जित्लान् । एयरपोर्ट आफ्नै पालामा अर्काको हातमा नपुगे त्यो पनि धोइएला । बिप्पा कार्यान्वयन गर्दिनँ भनौँला या अरू त्यस्तै केही तर्क गरौँला । कोमल बरालहरू फिर्ता गरौँला । तर, यो संगीन अचाक्ली 'भीम साबुन' ले गन्जी धोएझैँ पक्कै धोइँदैन ।
इतिहास निर्मम हुन्छ । प्रम बाबुरामका हकमा इतिहास र सत्य उदार हुन सक्दैनन् । पक्कै बेपत्ता योद्धाका भोलि लाखौँको संख्यामा विस्तारित हुने परिवारले उनीबारे एकएक हिसाब राख्नेछन् । उनलाई पार्टी र परिबन्धमा बाँधिएका बेपत्ता योद्धाका आफन्तले अहिल्यै त केही नगर्लान् पनि । हजारको संख्याका बेपत्ता योद्धाका आफन्तले सडक कब्जा गर्ने औकात पनि नराख्लान् । तर, छियाछिया फाटेका उनीहरूका मनले प्रम बाबुरामलाई सरापिरहेछन् । उनलाई धिक्कारिरहनेछन् । आफ्नै इतिहास र वर्गप्रतिको यो अनौठो अपमानलाई बेपत्ताका आफन्तले कहिल्यै भुल्नेछैनन् । - नयाँ पत्रिकाबाट