मङ्सिर ६ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सिनामङ्गलमा सुविधा सम्पत्र १० तले भवन निर्माणका लागि नेपाल वायुसेवा निगमले प्रक्रिया सुरु गरेको छ ।
हाल निगमको केन्द्रीय कार्यालय रहेको नयाँ सडकको भवनलाई व्यापारिक प्रयोजनमा लगाएर विमानस्थलनजिक रहेको जग्गामा नयाँ भवन बनाउँदा व्यावसायिक तथा प्रशासनिक काम गर्नका लागि सहयोग पुग्ने निगमका निमित्त महाप्रबन्धक राजबहादुर केसीले जानकारी दिएको राससले उल्लेख गरेको छ ।
निगमको सिनामङ्गलमा आफ्नो नाममा ३४ रोपनी जग्गा छ ।
प्रबन्ध निर्देशक केसीका अनुसार भवन निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ ।
मन्त्रालयबाट अनुमति पाइएको तीन वर्षदेखि पाँच वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्य निगमले राखेको छ । भवन निर्माणका लागि करिब रु डेढ अर्ब खर्च हुने प्रबन्ध निर्देशक केसीको भनाई छ ।