कात्तिक ६ - नेपाली कांग्रेसले सरकारले बजेट ल्याएर सहमतिको सबै ढोका बन्द गरेको ठहर गरेको छ ।
कांग्रेसले सरकारले प्रतिपक्षीलाई अलमलमा पारेर छक्याउन खोजेको आरोप समेत लगाएको छ ।
कांग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बसेको पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याउने र निर्वाचन घोषणा गर्ने कार्य गरेर प्रतिपक्षीलाई अलमलमा पारेर छक्याउन खोजेको निष्कर्ष निकालेको हो ।
दलहरूकाबीचमा राष्ट्रिय सरकार, बजेट र निर्वाचनका लागि भइरहेका पछिल्ला वार्तालाई नै ओझेलमा पार्ने गरी ल्याइएका त्यस्ता कार्यक्रमले सहमतिको सबै ढोका बन्द गरेको कांग्रेसले ठहर गरेको हो ।
उक्त बैठकमा सरकारले अध्यादेशमार्फत ल्याएको बजेट र आगामी वैशाखमा तोकेको निर्वाचनका कारण दलहरुबीचको सहमतिको प्रयासमा तुषारापात भएको पनि निष्कर्ष निकालेको छ ।