कात्तिक २४ – हराएको पैसा फेला पारेर लुकाउने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् ।
गत असोज २३ गते बागलुङ बजारदेखि बिहुँ जाँदै गर्दा पैसा हराएका बिहुँ– २ का मणिप्रसाद कँडेलको पैसा भेटाएर लुकाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बैंकबाट पैसा झिकेर घरतर्फ जाँदा कँडेलको रु पाँच लाख ५० हजार हराएको थियो । पैसा भेटाएर लुकाएका अमरभूमि– ४ का १७ वर्षीय खिमनाइसा मगर, लेखानी– १ का १८ वर्षीय महेन्द्र विक र सोही ठाउँका १५ वर्षीय चन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरूले बागलुङ नगरपालिका– ५ बोक्सीगैरामा पैसा भेटाएको प्रहरीको प्रारम्भिक बयानमा भनेका छन् । कँडेलको जाहेरीका आधारमा लामो अनुसन्धानपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूबाट रु एक लाख ७७ हजारसमेत बरामद गरिएको छ । पैसा भेटाएपछि महेन्द्रले रु दुई लाख ५० हजार, खिमले रु एक लाख ८० हजार र चन्द्रले रु एक लाख २० हजार बाँडेको प्रहरीले बताएको छ । उनीहरूले पैसा भेटाएपछि साइकल, भैँसीलगायत वस्तु खरिद गरेका थिए । उनीहरू तीनै जनामाथि अनुसन्धान भइरहेको र चोरीसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।