फागुन १४ – पछिल्लो राजनीतिक विषयमा छलफल गर्न बसेको कांग्रेस तथा एमाले बैठकमा घम्साघम्सी परेको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृव गर्न राजी भएपछि सोही विषयमा छलफल गर्न बसेको केन्द्रीय समितिको बैठक र नियमित समीक्षाको लागि बसेको एमाले स्थायी समितिको बैठकमा विवादले उग्र रुप लिएको हो ।
कांग्रेस बैठकमा बोल्ने अधिकांश वक्ताहरुले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै ठाडै अस्वीकार मात्रै नभएर त्यसको कडा विरोध गरेका थिए ।
सभापति सुशिल कोइराला निवासमा उपलब्ध केन्द्रिय समितिहरु सम्मिलित बैठक बसेको थियो । सो बैठकमा केन्द्रिय सदस्यहरुले एमाओवादीको पछि लागेर प्रधानन्यायाधीशलाई समर्थन गरेको भन्दै चर्को विरोध गरेका हुन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकसमेत भोलि १ बजे सम्मका लागि स्थगित गरिएको छ ।
यस्तै, एमाले स्थायीय समितिको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेललगायत नेताहरु प्रधानन्यायधीशको विपक्षमा उत्रिएका थिए ।
बैठकमा बोल्दै उनीहरुले बहालवाला प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार गठन गर्दा मुलकु झन् दलदलमा फस्ने भएकाले त्यसमा समर्थन गर्न नहुने विचार राखेका थिए । एमाले बैठक पनि भोलिसम्मका लागि रोकिएको छ ।
चार दलका शिर्ष नेताहरुको आग्रहमा प्रधान्यायाधीशले नेतृत्व लिन तयार भएपनि दलहरु भित्रको विवाद भने उग्र नै छ ।