बैशाख ८ - हावाहुरी र वर्षासहित परेको चट्याङका कारण कैलाली र डोटी जिल्लामा गरी गएराति तीन जनाको मृत्यु भएको छ ।
कैलालीको मध्यक्षेत्रको बौनिया गाविस–२ मैनापोखरी गाउँका सोसुराम चौधरीको घरमा राति परेको चट्याङबाट उनकी श्रीमती अन्दाजी २६ वर्षीया टीकादेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ लागेर बेहोस भएकी चौधरीको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा राति नै मृत्यु भएको हो । चट्याङबाट बेहोस भएका सोसुराम र उनका १३ वर्षीय छोरा निराजनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनामा चौधरीको एक चौपायासमेत मरेको छ ।
यसैगरी, डोटीको पश्चिमी सीमा क्षेत्र घण्टेश्वर गाविस–३ घोरडी गाउँमा परेको चट्याङ लागेर स्थानीय ६० वर्षीय तारासिं मल्ल र ५५ वर्षीया रामकली डाँगीको मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मल्लको भनाई उदृत गर्दै राससले उल्लेख गरेको छ ।
चट्याङका कारण बेहोस भएका दुवै जनाको उपचारार्थ धनगढीतर्फ ल्याउँदै गर्दा बाटैमा राति मृत्यु भएको हो ।
उक्त घटनामा घाइते भएका अन्य १५ जनलाई उपचारार्थ अस्पतालतर्फ ल्याउँदै गरिएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बुझिएको छ ।
हावाहुरीसहित भएको वर्षाले कैलालीमा भर्खरै काटेर खेतमा थुपारिएको गहुँबाली भिजेर क्षति पुगेको छ ।
Powered by Blogger.
कैलाली र डोटी चट्याङबाट तीन जनाको मृत्यु
प्रकाशित मिति:
April 21, 2013