२१ चैत । नवलपरासीमा गण्डक नदीको बाढीबाट बर्सेनि डुवानमा पर्ने कुडिया गाउँ विकास समितिका गण्डक पीडितले गण्डक बाँधअन्तर्गत ए गैप र वी गैप बाँध जोड्ने नयाँ लिंक बाँधको अधुरो काम १५ दिनभित्र सुचारु गर्न माग गरेका छन् ।
गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटको संयोजकत्वमा गएको पीडित टोलीले प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकलाई भेटी सो माग गरेका हुन् ।
पन्ध्र दिनभित्र लिंक बाँधमा रहेको पुल र ह्यूम पाइपमा फाटक हाल्ने तथा वडा नं ९ का डुवान क्षेत्रमा पानी निकासका लागि कुलो खन्ने कार्य सुरु नगरे कडा सङ्घर्षको कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने गण्डक पीडितले चेतावनी दिएका छन् ।
ए गैप बाँध र वी गैप बाँधको बीचमा रहेको यस क्षेत्रमा बर्सेनि नारायणी नदीले कटान र डुवान गर्ने गरेकाले २०६५ सालमा भएको गण्डक आन्दोलनको मागअनुसार भारतीय दूतावासको सहयोगमा नयाँ लिंकबाँधको निर्माण सुरु गरिएको थियो ।
तर बाँधमा रहेको पुल र ह्यूम पाइपमा पानी रोक्ने फाटक नराखिँदा बाढीको पानी गाउँमा पस्ने र पानी निस्कन नपाउँदा धेरै धनजनको क्षति हुने कुडिया गाविसका निवर्तमान अध्यक्ष प्रेमचन्द गुप्ताले बताउनुभयो ।
डुवानले बर्सेनि पूरै वडा नै डुब्ने गरेको छ जसबाट ३०० भन्दा बढी घर र बालीनाली डुब्ने गरेको छ । सो क्रममा प्रजिअ लेखकले छिटोभन्दा छिटो काम सुरु गर्न सिँचाइ मन्त्रालय, गृहमन्त्रालय र सिँचाइ डिभिजन सेमरीमा पत्राचार तथा समन्वय गर्ने आश्वासन दिनुभएको थियो । रासस
Powered by Blogger.
गण्डक पीडितद्वारा आन्दोलनको चेतावनी
प्रकाशित मिति:
April 03, 2013