जेठ १३ । विश्व बैंकले गरिबी निवारण कोषका लागि थप आठ करोड अमेरिकी डलर अनुदान दिने भएको छ । कोषलाई सुरुदेखिनै आर्थिक सहयोग गर्दै आएको विश्व बैंकले थप अनुदान उपलब्ध गराउने सम्बन्धमा अन्तिम तयारी भइरहेको कोषले जानकारी दिएको छ ।
कोषद्वारा आइतबार आयोजित ‘गरिबी निवारणको हालसम्मको प्रगति तथा भावी कार्यदिशा’ विषयक अन्तक्र्रियामा कोषका उपाध्यक्ष युवराज पाण्डेले आगामी चार वर्षे कार्यक्रमका लागि विश्व बैंकबाट थप आठ करोड अमेरिकी डलर अनुदान लिने तयारी भइरहेको जानकारी दिए ।
विश्व बैंकले हालसम्म कोषलाई ११ करोड ५० लाख डलर अनुदान उपलब्ध गराइसकेको छ भने आइफाडले ४० लाख डलर अनुदान उपलब्ध गराएको छ ।
हाल ४० जिल्लामा कार्यरत कोषले विशेष सिर्जनशील तथा विश्व बैंकको नेपाल विकास बजार कार्यक्रमसमेत गरी कुल ५९ जिल्लाका एक हजार ६३४ गाविसमा काम गरिरहेको छ ।
कोषअन्तर्गत २०६९ असार मसान्तसम्म विभिन्न किसिमका ४० कार्यक्रम मार्फत झण्डै २१ हजार सामुदायिक संस्था गठन भइसकेका छन् । ती संस्थाको मागबमोजिम २० हजारभन्दा बढी आयआर्जन तथा चार हजार सामुदायिक भौतिक पूर्वाधार उपपरियोजनालाई प्रत्यक्ष सहयोग पुगेको कोषको भनाइ छ ।
यस्तै कोषले लक्षित समुदायका हातमा वित्तीय स्रोतको सिधा प्रवाहका लागि कुल बजेटको ७८ देखि ८० प्रतिशत रकम गरिबहरूको सामुदायिक संस्थामा सिधै प्रवाहित गरिन्छ भने सहयोग संस्थाले झण्डै १६ प्रतिशत रकमबाट बस्ती सर्भेक्षण, सामुदायिक पूर्वाधारहरूका लागि प्राविधिक सहयोग, सामुदायिक संस्थाको सहजीकरण तथा अभिमुखीकरणजस्ता कार्य गर्दछन् ।
कोषले चालु आर्थिक वर्षभित्रै थप १५ जिल्लामा कार्यक्रम विस्तार गर्न लागेको छ भने बाँकी २० जिल्लामा क्रमशः गरिबी पकेट क्षेत्रमा आधारित कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।
चालु आर्थिक वर्षमा थप गरिने १५ जिल्लाका लागि हाल सहयोगी संस्थाको छनोट प्रक्रिया अगाडि बढाइएको कोषले जनाएको छ ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठले नेपालमा सञ्चालित विभिन्न कार्यक्रमबाट हरेक वर्ष दुई प्रतिशतले गरिबी घट्दै गएको जानकारी दिए ।
विश्व बैंकका प्रतिनिधि राजीव उपाध्यायले कोषको चार वर्षे रणनीति कार्यक्रमअनुरूप बैंक सहकार्य गरेर जाने तयारीमा रहेको जानकारी दिए ।
आर्थिक पत्रकार समाजका अध्यक्ष प्रदीप चापागाईंले कोषका कार्यक्रमको उपलब्धिसम्बन्धी समुदायस्तरमै गएर प्रभावकारी अनुगमन हुनुपर्ने बताए ।
यसैबीच गरिबी निवारण कोषले गरिबी निवारणसम्बन्धी उत्कृष्ट समाचार तथा फिचर लेखहरूलाई पुरस्कृत गर्ने उद्देश्यले गरिबी निवारण कोष पत्रकारिता पुरस्कार स्थापना गरेको छ । रासस
Powered by Blogger.
विश्व बैंकले नेपाललाई आठ करोड डलर अनुदान दिने
प्रकाशित मिति:
May 27, 2013