सन्चोलाई बिगार्न नेपाली र भारतीय तस्करको साँठगाँठ
जेठ १३ । जडीबुटी उत्पादन तथा सङ्कलन क्षेत्रका केही तस्करहरूले लोकप्रिय आयुर्वेदिक तेल (सन्चो) लाई मिसावट गर्न खोजेको तथ्य फेला परेलगत्तै सावधानी अपनाइएको छ ।
मिडिया इन्टरनेसनलले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक चन्द्रबहादुर शाहीले सन्चोको विभिन्न देशबाट माग भएपछि चाँडै धनी हुने लोभमा तस्करहरूले सन्चोको ब्रान्ड बिगार्न खोजेको बताए ।
तस्करहरूले नेपाली उत्पादन सन्चो भारतमा लगी अन्य रसायन मिसावट गरी दुरुस्त बनाई बिक्री वितरणमा ल्याउन लागेको तथ्य बाहिर आएलगत्तै कम्पनीले आफ्नो उत्पादनमा विशेष सतर्कता र सावधानी अपनाउनु परेको उनले बताए ।
बेलायतबाट तत्कालै १०० कार्टुन सन्चोको माग भएलगत्तै आयुर्वेद क्षेत्रका केही तस्करहरूले भारतीय आयुर्वेद क्षेत्रका तस्करसँग साँठगाँठ गरी नेपाली सन्चोको ब्रान्ड बिगार्न लागेको महाप्रबन्धकले खुलासा गरे ।
नेपालमा मात्र पाइने एक प्रकारको जडीबुटीबाट तयार पारिने तेलको नाम नै ‘सन्चो’ हो । यसलाई रुघाखोकी, टाउको दुखेको र शरीर दुख्दा प्रयोग गरिन्छ । सन्चोको उत्पादन नेपालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले मात्र गर्दछ ।
नेपालमा हाल सन्चोको बिक्री वार्षिक रु ३० लाखभन्दा बढीको हुन्छ भने अन्य मुलुकबाट तीन गुणा बढी माग भइरहेको छ ।
जडीबुटीको अथाह भण्डार रहेको नेपालमा अरु देशका मानिसले लुकीछिपी धेरै फाइदा बटुलिरहेको भए पनि नेपाल सरकारले त्यसतर्फ ध्यान दिन नसकेको जडीबुटी व्यवसायी सुभाष सुब्बाले जानकारी दिए ।
नेपालमा कानुनीरूपले भन्दा गैरकानुनीरूपले जडीबुटीको तस्करी हुने गरेको वनस्पति विभागका महानिर्देशक डा अन्नपूर्णनन्द दासले जानकारी दिए ।
राजनीतिक संरक्षणका आधारमा नेपाली जडीबुटी कौडीको मोलमा बिक्री भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
नेपालमा वैधरूपमा वार्षिक करिब रु दश अर्बको जडीबुटीको व्यापार हुने गर्दछ । तर, तीन गुणा बढी अवैध ढङ्गबाट कारोबार हँुदा राज्यले करिब एक अर्ब राजस्व गुमाइरहेको स्रोतको दाबी छ । हाल सरकारले जडिबुटीबाट वार्षिक करिब रु ३० करोड राजस्व असुल गर्ने गरेको दासले बताए ।
नेपालबाट जडीबुटीका रूपमा सबैभन्दा बढी कुरिलोको व्यापार हुने गरेको पाइन्छ । हाल दैनिक करिब एक ट्रक कुरिलो भारत निर्यात हुने गरेको बताइन्छ । कुरिलो सुप बनाएर पिउन र अन्य विभिन्न औषधि उत्पादनमा प्रयोग हुने गर्दछ ।
नेपालबाट अमला, कुरिलो, जटामसी, पाँचऔँले, चिराइतो, रुद्राक्ष, लेमनग्रास, रिठ्ठो, गुजरगानो, सुगन्ध कोकिल, सर्पगन्धा, सतुवा, सुनाखरीलगायतका १६० प्रजातिका जडीबुटीको कानुनी तथा गैरकानुनी तरिकाबाट बिक्री वितरण भइरहेको श्री दासले बताए । रासस
प्रकाशित मिति:
May 27, 2013