हत्यारालाई कारबाहीको माग गर्दा गोली चल्यो, गोली लागि २ घाइते
जेठ १२ । सुनसरी जिल्लाको दुहबीमा २६ दिन अघि एक युवतीको विभत्स हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयबासीद्धारा गरिएको विरोधमा प्रहरीले गोली चलाएको छ ।
स्थानीय र प्रहरीबीच तनाब उत्पन्न भएको हो सो क्रममा केही स्थानीय घाइते भएको र दुई जनालाई हातमा गोली लागेको छ ।
गोली लागि विजय चौधरी र महमुद जलिल घाइते भएका छन् ।
प्रहरीले हस्तक्षेप गरेपछि आक्रोशित स्थानीयले केही सवारी साधनका साथै अक्सिजन बोकेको गाडीमा आक्रमण गरेका छन् ।
हत्यारालाई कारवाहीको माग गर्दै गरिएको बन्दका कारण कोशी राजमार्गको विराटनगर–धरान सडकखण्ड पूर्णतः बन्द छ भने पूर्व–पश्चिम राजमार्गको इटहरी–इनरुवा सडकखण्डमा समेत बन्दको प्रभाव परेको छ ।
बन्दका कारण सार्वजनिक सवारीसाधन पूर्णरुपमा ठप्प रहेको छ । बन्दले त्यस क्षेत्रका उद्योगधन्दा, कल–कारखाना र विद्यालयहरुसमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
२६ दिनअघि स्थानीय २१ वर्षिया राधिका मण्डलको हत्या गरी स्थानीय बुढीखोलामा फ्याँकेको अवस्थामा फेला परेको थियो । हत्याको आरोपी इस्मान खान फरार रहेका छन् भने अन्य एक आरोपी जरिना खातुनमात्र प्रहरी हिरासतमा रहेकी छिन् ।
हत्यामा सम्लग्न भएका मुख्य आरोपी इस्मानलाई प्रहरीले नै भगाउने भूमिका खेलेको भन्दै दुहवीबासीले आरोप लगाएका छन् ।
प्रकाशित मिति:
May 26, 2013