अरुण पूर्वका ९ जिल्ला बन्दले जनजीवन प्रभावित
जेठ १६ । सङ्घीय विद्यार्थी युनियन लिम्बूवानले अरुण पूर्वका ९ जिल्लामा आज गरेको बन्दका कारण कोसी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण कोसी पहाडी राजमार्गमा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग राख्दै आएका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले आफ्नो माग सुनुवाइ नगरेका कारण बन्द गर्नुपरेको बताएका छन् ।
बन्दले कोसी पहाडी क्षेत्रका धनकुटा, भोजपुर तेह्रथुम र सङ्खुवासभा जिल्लाको जनजीवन कष्टकर भएको छ । बन्दको प्रभावले यहाँका स्थानीय उद्योग, शिक्षण संस्था, व्यापार व्यवसाय सबै ठप्प रहेका छन् ।
लिम्बूवान विद्यार्थीले एक विज्ञप्ति जारी गरी जेठ २३ गते पनि अरुण पूर्वका ९ जिल्लामा बन्दको घोषणा गरेका छन् ।
प्रकाशित मिति:
May 30, 2013