प्लिज सेफ एसोसिएसन यूकेले गत २१ मे मा पारिवारिक पुनर्मिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भेन्यू फाइभ रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रम विल्कुल पृथक थियो। प्रायः अतिथीहरुले माइक पाएपछि मञ्चमा आफ्ना गन्थन भनेरै नथाक्ने नेपाली परिपाटी विपरित एसोसिएसनले औपचारिक कार्यक्रम छोटो मिठो गर्यो।
अतिथीहरु उल्लेख्य आमन्त्रण गरिएपनि वक्ता केवल दुई जना थिए। मन्तव्यका क्रममा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष कुल आचार्यले बेलायतमा नेपाली सेफहरुले स्वादिष्ट खानाको माध्यमबाट नेपाललाई विश्वभर चिनाइरहेको जनाए। उनले संस्था स्थापनाको छोटो समयमै समुदायमा घुलमिल हुन सक्नुलाई एसोसिएसनको उपलब्धिका रुपमा चित्रण गरे।
एसोसिएसनका सचिव भूपेन्द्र पाठकले सञ्चालन गरेको औपचारिक कार्यक्रममा एसोसिएसन अध्यक्ष कृष्ण तिमिल्सिनाले नेपाली सेफहरु बेलायत आएर व्यक्तिगत रुपमा प्रतिष्ठित भएपनि उनीहरुले सामाजिक पहिचान बनाउन नसकेको परिप्रेक्ष्यमा एसोसिएसन त्यसै प्रयोजनका लागि गठन गरिएको प्रष्ट्याए। उनले नेपाली सेफहरुका समस्या सम्वोधन गर्ने आधिकारिक संस्थाको अभाव महसुस गर्दै गत वर्ष जुलाई २३ मा एसोसिएसन स्थापना गरिएको उल्लेख गरे। तिमिल्सिनाले आगामी दुई महिनापछि एसोसिएसनको वार्षिक साधारणसभा हुने जनाउंदै सदस्यता लिएर त्यसमा सक्रिय सहभागिता जनाउन पनि आग्रह गरेका थिए।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका चर्चित लोक गायक खड्ग गर्बुजाले दर्जन बढि लोकगीत गाएर दर्शकलाई मनोरञ्जन दिए। डिजे हेम विष्टले सांस्कृतिक कार्यक्रममा साथ दिएका थिए।
विशुद्ध पारिवारिक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा सहभागी एनआरएनए यूके
संयोजक एवं एसोसिएसन सल्लाहकार रामशरण सिंखडा, सल्लाहकार जित पाख्रिन, सोलिसिटर राजु थापा, नेपलिज क्याटरिङ एसोसिएसन यूके उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नवीन पोखरेल, वरिष्ठ उपाध्यक्ष चिरन शर्मा, युवा नेता विजन भट्ट, मोना युकेका निवर्तमान अध्यक्ष योगकुमार फगामी, नेपलिज ब्रिटिश कम्युनिटी अध्यक्ष गंगा राना, सफल युवा व्यवसायीहरु उत्तम नेपाल, योगेन क्षेत्री, विराज भट्ट लगायत अतिथीलाई संस्थाका अध्यक्ष तिमिल्सिनाले खादा एवं नेपलिज नर्सिङ एसोसिएसन यूकेकी महासचिव प्रसुना कंडेलले ब्याज लगाएर स्वागत तथा सम्मान गरेका थिए।
सो अवसरमा बच्चा देखि वृद्धसम्मका करिब अढाइ सयको उपस्थिति थियो। कार्यक्रम सफल बनाउन एसोसिएसनका कोषाध्यक्ष दधि आचार्य, सहसचिव भिमलाल भट्टराई, सदस्यहरु मोहनलाल ओली, धर्मागत चापागाईं, ठाकुरप्रसाद ढुंगाना, खेम ढकाल, सरोज केसी लगायतको ठूलो योगदान थियो।
Powered by Blogger.
यूकेमा सेफ एसोसिएसनको सांस्कृतिक कार्यक्रम
प्रकाशित मिति:
May 24, 2013