भारतमा बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ७० नाध्यो, फिलिपिन्समा एक लाख विस्थापित
असार ४, एजेन्सी । उत्तरी भारतमा अबिरल वर्षापछि आएको बाढीबाट ७० भन्दा बढीको मृत्यु भएकोे छ । यस बाढी र पहिरोका कारण ६० हजार भन्दाबढी तीर्थयात्री उत्तरी भारतमा फसेका वरिष्ठ प्रहरी अधिकारीले मङ्गलबार बताएका छन् ।
सो बाढीबाट भारतको उत्तरी राज्य उत्तराखण्डमा बढी प्रभावित भएको छ । त्यहाँ उक्त बाढीका कारण करिब ४० व्यक्तिको मृत्यु भएको र १५० वटा भवन भत्किएको बताइएको छ ।
यसैगरी छिमेकी प्रान्त हिमाचल प्रदेशमा यस बाढीको कारण गएको पहिरोमा परी कम्तीमा दस व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
स्थानीय बासिन्दालगायत भारतीय हवाई सुरक्षाबलले उद्धारकार्य जारी राखेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
यता, फिलिपिन्सको मिन्दानाओ प्रान्तमा अबिरल वर्षापछि आएको बाढीका कारण करिब एकलाख व्यक्ति विस्थापित भएका छन् ।
उक्त जानकारी फिलिपिन्सको राष्ट्रिय प्रकोप नियन्त्रण तथा व्यवस्थापन परिषद (एनडीआरआरएमसी) ले मङ्गलबार दिएको छ ।
एनडीआरआरएमसीका कार्यकारी निर्देशक इडुआर्डो डेल रोसारीओका अनुसार त्यहाँको होचो स्थानमा रहेका सहरहरु सुल्तान कुदरत, सरनगानी, नर्ड कोटाबाटो मगुइनडानाओलगायत बढी प्रभावित भएका छन् ।
यस प्रकोपबाट दाभाओ डेल नोर्टे, सुल्तान कुदरत, सरनगानी नर्ड कोटाबाटोमा गरी ती व्यक्ति प्रभावित भई विस्थापित भएका छन् ।
यस प्रकोपबाट हालसम्म हताहतीको कुनै समाचार नभएको बताइएको छ । बाढीको प्रकोप भने जारी नै रहेको बताइएको छ ।
प्रकाशित मिति:
June 18, 2013