हेर्दाहेर्दै सयौ बिघा जमिन बन्यो बगर
असार १२ । सेती नदीले डोटीको लामिखाल गाबिस वडा नम्बर ५ र ६ मा सयौ बिघा खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ ।
एक साता अघि अविरल वर्षा संगै नदिमा आएको बाढीले वडा नम्बर ५ घाडीमनी र वडा नम्बर ६ रोतीको करिब १ सय बिघा जमिन बगरमा परिणत गरेको हो ।
स्थानियको धान रोपाई गरिसकेको खेत नदीले बगाएर बगर बनाएपछि स्थानियबासी चिन्तित बनेका छन् । स्थानियहरुको कमाई गरि खाने खेत बगाएपछि कृषकहरुलाई भोकमरीको चिन्ताले पिरोलेको स्थानिय जयराज भट्टराईले बताए ।
उनका अनुसार सो ठाँउका २० घरपरिवार बाढीको जोखिममा रहेका छन भने ४ घरपरिवार निकै उच्च जोखिममा रहेका छन् । यस्तै बाढीले स्थानियले निर्माण गरेको ३ किलोमिटर सिचाँई कुलो समेत बगाएको छ । बाढीले सिचाई कुलो समेत बगाए पछि अलिकति बचेको खेतमा समेत रोपाई हुन नसकेको स्थानियको भनाई छ । नदीले वर्षैपिच्छे सो ठाउमा खेतीयोग्य जमिन बगरमा परिणत गर्दा समेत अहिले सम्म सम्बन्धित निकायले राहतका लागि कुनै पहल नगरेको लामिखाल ७ का स्थानिय शिक्षक रामबहादुर खत्रीले गुनासो गरे ।
यस अघि २०५७ सालमा आएको बाढीले सो ठाउका २ घर सहित सयौ रोपनी जमिन बगाएपनि १३ वर्ष बितिसक्दा समेत पिडितहरुले राहत नपाएको खत्रीले बताए ।
राहतका लागि पहल गर्न सदरमुकाम जादा राहतको ४ गुणा बढी खर्च लाग्ने उनले भनाई छ । सो ठाउदेखि डोटी सदरमुकाम पुग्न पैदल ६ घण्टा हिड्नुपर्ने बाध्यता छ ।
यस्तै सोही ठाउमा बैतडीको ढुङ्गाड र लामीखाल जोड्ने झोलुङ्गे पुल समेत बाढीको उच्च जोखिममा रहेको लामिखाल ६ का स्थानियबासी जयराज भट्टराईले बताए ।
प्रकाशित मिति:
June 26, 2013