म्याग्दीको नारच्याङमा मात्रै दश वटा जलविद्युत
भदौ ११ । म्याग्दीको उत्तरी पर्यटकीय नारच्याङ गाविसमा मात्रै दश वटा जलविद्युत आयोजना निर्माण हुने भएका छन् ।
जिल्लाको उत्तरी पर्यटकीय अन्नपुर्ण पदमार्ग अन्तर्गत पर्ने नारच्याङ गाउँमा अहिलेसम्म सानाठूला गरी १० जलविद्युत आयोजना भित्रिएका हुन् ।
अहिले गाउँमा भित्रीएका जलविद्युत आयोजना मध्ये दुईवटा जल विद्युत् आयोजना निर्माण चरणमा प्रवेश गरेपछि नारच्याङ्ग ‘हाईड्रो भिलेज’ मा परिणत भएको छ ।
अन्नपुर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बाग्ने निलगीरी अर्थात मिरिस्ती र खयरवराह तालबाट बग्ने रेले खोलाबाट विद्युत उत्पादनका लागि अहिलेसम्म नारच्याङ्गमा मात्रै कुल ३ सय ८४ मेगावाट क्षमताको जलविद्युत आयोजना छन् ।
नारच्याङ्गमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ देखि विद्युत् वितरण थालेको २ मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजनाले जलविद्युतको सम्भावनाको ढोका खोलेको थियो ।
अहिले नारच्याङमा रोवष्ट्र्स इनर्जीको ४२ मेगावाट क्षमताको मिरिष्टीखोला र रेलिनार इनर्जी कम्पनीको ४ मेगावाटको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण चरणमा प्रवेश गरेको नारच्याङ्ग जलसरोकार उपभोत्ता समिति सदस्य तेज गुरुङले जानकारी दिए । उनका अनुसार ३८ मेगावाटको निलगिरी, १० मेगावाटको घलेन्दी जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मुल्याङ्कन सकेको छ ।
त्यसैगरी ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मुल्याङ्कनको काम गरिरहेको छ । ६२ मेगावाटको निलगीरी क्यासेट, ५ मेगावाटको निलगीरी माथिल्लो, ५० मेगावाटको मध्य कालिगण्डकी जलविद्युत आयोजना अहिले दर्ता भएको नारच्याङ्ग जलसरोकार उपभोक्ता समितिले जनाएको छ ।
प्रकाशित मिति:
August 27, 2013