बैंकका कारण नेम्सेमा रातो
Source: Nepse |
भदौ १० । नेपाली सेयर बजारमा ठूलो हिस्सादार बाणिज्य बैंक समूहको परिसूचक २.७८ अंकले ओरालो लागेपछि साताको दोस्रो दिन पनि नेम्से सुधार भएन ।
सोमबार नेम्सेमा रातो लाग्दै बन्द हुँदा नेप्से १.३६ अंकले घटेको छ ।
नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, बैंक अफ काठमाण्डू लगायतका वाणिज्य बैंकको समूह आज पनि ओरालो लाग्दा यी बैंकमा लगानीकर्ताले १९ रुपैयाँसम्म घाटा बेहोरेका छन् ।
तर बंगलादेश बैंकको सेयर मुल्य भने आज पनि उकालो नै लागेको छ । आज उक्त बैंकको सेयर प्रतिकित्ता ३३ रुपैयाँ बढेको छ ।
बंगलादेशी लगानीकर्ता बैंक आइएफआइसीले एनबी समूहको स्वामित्वमा रहेको प्रवर्धक सेयर किन्न पैसा पठाएपछि सेयर मुल्य यसरी बढेको बताइएको छ ।
यता, इन्स्योरेन्स कम्पनीहरुको सेयर समेत सोमबार ओरालो लागेको छ । लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर प्रतिकित्ता तीन सय ४५ रुपैयाँ घट्यो भने नेपाल लाइफ इन्स्योरेन्स, शिखर र सूर्या लाइफको पनि ओरालो लागेको छ । तर एशियन लाइफ, युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल, नेकोलगायतका इन्स्योरेन्सको सेयर भने बढेको छ । यस्तै सोमबार हाइड्रोमा लगानी गर्नेहरुले भने नाफा आर्जन गरेका छन् ।
सोमबार कुल २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति:
August 26, 2013