चीनको कारखाना गतिविधि १ वर्षकै तीब्र दरमा वृद्धि
भदौ १९ । चीनको कारखाना गतिविधि अगस्टमा १ वर्षकै तीब्र दरमा वृद्धि भएको छ । नयाँ अर्डरमा आएको वृद्धिका कारण कारखाना गतिविधिमा वृद्धि भएपछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा देखा परेको तीब्र आर्थिक गिरावटको समय समाप्त भएको अड्कल काटिएको छ ।
चीनको राष्ट्रिय तथ्यांक विभागले प्रकाशित गरेको ‘पर्चेजिङ म्यानेजर्स इन्डेक्स’ पीएमआई जुलाईको ५० दशमलब ३ बाट वृद्धि भई ५१ कायम भएको छ ।
यो वृद्धि गएको अप्रिलदेखिकै उच्च हो भने ५० दशमलब ६ को बजार अपेक्षाभन्दा माथि रहेको रोयटर्सको सर्भेले देखाएको छ । ५० भन्दा माथिको अंकले पीएमआईमा विस्तार भएको र तलको अंकले संकुचन भएको जनाउछ ।
रेलमार्ग र सार्वजनिक हाउजिङको निर्माणमा लगानी वृद्धि गरेर तथा साना कम्पनीहरुलाई सघाउने उदेश्यबाट ल्याइएको श्रृखलाबद्ध नीतिको माध्यमबाट बेइजिङले तीब्र रुपमा भएको आर्थिक मन्दी रोक्ने प्रयास गर्दै आएको छ । यी नीतिहरुबाट आगामी महिनाहरुमा आन्तरिक माग दिगो हुने अपेक्षा बेइजिङले गरेको छ । आर्थिक अवस्थामा सुधार आएको स्पष्ट संकेत आफूले देखेको हङकङमा रहेको जेपी मोर्गानका प्रमुख चिनिया अर्थशास्त्री हइबिन झुले बताए ।
नया अर्डर र खरिदको परिमाणजस्ता सबै उप–सूचकांकमा आएको सुधारले रोजगारी वृद्धि गर्ने र कारखाना क्षेत्रको सकारात्मक चित्रण गर्ने आधिकारिक तथ्यांकले देखाएको छ । अगस्टमा सुधार भएको पीएमआई तथ्यांकले अर्थतन्त्रमा थप स्थिरताको वातावरण सिर्जना भएको बेइजिङमा रहेको सरकारी अध्ययन–अनुसन्धान केन्द्र डेभलपमेन्ट रिसर्च सेन्टरका अर्थशास्त्री झाङ लिक्विनले बताए । सबै उपसूचकांकमा भएको सुधारले बजारको अपेक्षा उत्तम अवस्थातिर फर्केको र कम्पनीहरुले बदलिदो व्यावसायिक वातावरण स्वीकार गरेको उनको भनाइ छ ।
नया अर्डरको मापन गर्ने उपसूचकांक जुलाईको ५० दशमलब ६ को तुलनमा वृद्धि भई अगस्टमा ५२ दशमलब ४ कायम भएको छ । सूचकांकमा भएको यो वृद्धिले चिनिया सामग्रीको माग मजबुत अवस्थामा रहेको संकेत गरेको छ ।
प्रकाशित मिति:
September 04, 2013