काठमाडौको जेलबाटै लागु औषधको कारोवार
भदौ १७ । राजधानीका तीन ठूला कारागारमा रहेका कैदीलाई प्रयोग गरी औषधिजन्य लागूऔषधको कारोबार गर्दै आएका प्रमुख व्यापारी पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले लामो समयदेखि लागूऔषधको कारोबार गर्दै आएका पर्सा निवासी वीरेन्द्रकुमार क्षत्रीलाई काठमाडौको सुन्धाराबाट पक्राउ गरेको छ । क्षत्रीले विगत १२ वर्षदेखि रूपेश, शेखर, राजु, राजा, निर्मलजस्ता नाम फेर्दै लागूऔषधको व्यापार सञ्चालन गर्दै आएका थिए । प्रहरीले उनीसहित उनका दाजु धीरेन्द्रकुमार क्षत्री र दाङ निवासी नारायण श्रेष्ठलाई समेत पक्राउ गरेको राजधानी दैनिकमा खबर छ ।
अभियुक्त क्षत्रीले आफुसहित श्रीमती र नातेदारको नाममा विभिन्न बैंकमा खाता खोली बैंकमार्फत नै पैसाको कारोबार गर्ने गरेको पाइएको छ । ‘नरनताको नाममा एसबीआई बैंक, सिद्धार्थ बैक, एभरेस्ट बैंक, इन्भेस्टमेन्ट बैंक, सी–इन्डिया तथा सहरा इन्डियाजस्ता नाम चलेकाबैकमार्फत कारोबार गर्दै आएका रहेछन्डी आईजी थापाले भने, ‘ती बैंकमा भएको कारोबारको विवरण मात्रै हेर्दा पनि ५ करोडभन्दा बढी देखिन्छ । काठमाडौमा हुने गरेको लागूऔषध वितरणमध्ये ६५ प्रतिशत क्षत्रीको औषधिजन्य लागूऔषधको कारोबार हुने गरेको प्रहरीले दाबी गरेको छ ।
कैद भुक्तान गरेपछि क्षत्रीले वीरगन्ज र विराटनगरबाटै फोनमार्फत कारोबार गर्दै आएका थिए । उनी केही दिनअघि काठमाडौमा नारायण श्रेष्ठलाई भेट्न आएकै बेला प्रहरीले पक्राउ गरेको हो । सुरुमा प्रहरीले श्रेष्ठका सहयोगी दाङ स्थायी घर भएकी पूजा नेपाली र रुकुम घर भएकी सरिता बुढालाई पक्राउ गरेपछि मात्रै क्षत्रीलाई पक्राउ गर्न सफल भएको हो । सामाखुसी बस्दै आएकी सरिता बुढा जापानी भाषा पढ्दै थिइन् । उनकै कोठालाई श्रेष्ठ र पूजाले सामान राख्ने स्थलको रूपमा प्रयोग गर्दै आएको जानकारी पाएपछि प्रहरीले छापा मारी पक्राउ गरेको थियो । त्यसपछि मात्रै प्रहरीले क्षत्रीलाई पक्राउ गर्दा जेलमा कैदीहरूको सहयोगले सो औषधिजन्य लागूऔषधको कारोबार गर्न थालेको बताएका थिए ।
उनले नक्खु कारागारका पप्पु यादव, सोमराज लामा, नवीन गुरुङ, फिरोज आलम केन्द्रीय कारगारका शारदा थापा, मञ्जु च्यामे, रन्जन गुरुङ, हाकु, अखिलेश यादव, गोविन्दमान श्रेष्ठ, रबिन च्यामे, सुरेश श्रेष्ठ, डिल्लीबजार कारागारका विनोद श्रेष्ठलगायतको सहयोगमा कारोबार गर्दै आएको बयान दिएका छन् । कारोबारमा संलग्न अन्य स्थानीय एजेन्टहरूको पनि खोजी गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रणबहादुर चन्दले बताए । जेलमा बस्दा सम्पर्क बढेपछि कारोबार गर्न सकिने आँट भएकैले उनी १२ वर्षदेखि यही पेसामा लागेर करोडौ कमाइसकेको एसएसपी चन्दले दाबी गरे ।
प्रकाशित मिति:
September 02, 2013