थबाङमा ‘शून्य भोट’
खेमबहादुर बुढा
रोल्पा: सशस्त्र द्वन्द्वका क्रममा माओवादी राजधानी मानिएको रोल्पाको थबाङ गाविसमा मंगलबार हुने संविधानसभा निर्वाचनको कुनै चहलपहल छैन।
निर्वाचन गराउन खटिएका कर्मचारी टोलीले निष्पक्ष र धाँधलीरहित चुनाउका लागि प्रतिबद्धता माग्न आइतबार सर्वदलीय र सर्वपक्षीय बैठक बोलायो। तर बैठकमा निर्वाचनमा सहभागी कुनै पनि दलका उम्मेदवार र प्रतिनिधि सहभागी भएनन्। बैठकमा बहिष्कारवादी नेकपा-माओवादीका प्रतिनिधिमात्र उपस्थित भए।Thawang
माओवादीका जिल्ला सहइन्चार्ज जयप्रकाश रोकामगर ‘प्रताप’ सहितको टोली कर्मचारीले डाकेको बैठकमा सहभागी भएको थियो। ‘अन्य दलका प्रतिनिधि नै छैनन् थबाङमा, त्यसैले कोही आएनन्। शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गर्ने निर्णयमा हामी पनि सहमत भयौं’, सहइन्चार्ज प्रतापले अन्नपूर्णसँग भने, ‘निर्वाचन टोलीलाई मतदान केन्द्रको व्यवस्थापन तथा तयारीमा माओवादीले नै सहयोग गरिरहेको छ।’
माओवादीले थबाङमा ‘शून्य मतदान’ को तयारी गरिरहेको छ। चुनाउ बहिष्कारका सबै तयारी गरेको प्रतापले बताए। ‘भोट खसाल्न मतदाता घरबाटै आउँदैनन्। शून्य मतदान हुन्छ’, उनले भने, ‘हामी मतपेटिका खोस्ने, मतदानस्थलमा आक्रमण गर्ने पक्षमा छैनौं। मतदानस्थल खाली हुन्छ।’
चुनाउमा होमिएका कुनै पनि दलले प्रचारका लागि थबाङ टेकेकै छैनन्। कात्तिक ७ गते क्षेत्र नम्बर १ की एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई माओवादीले थबाङको ठूलोगाउँमा कार्यक्रम गर्नै दिएनन्। ओनसरीले मुस्किलले मरनथानामा कार्यक्रम गरिरहेका बेला माओवादी कार्यकर्ताले विरोध गर्दै दमाहा बजाएर लखेटेका थिए। एमाले, कांग्रेसलगायतका कुनै पनि दल थबाङ पुगेका छैनन्।
रोल्पा सदरमुकाम लिवाङबाट दुई दिन हिँडेपछि थबाङ पुगिन्छ। एमाओवादी विभाजनपछि थबाङका करिब ८० प्रतिशत कार्यकर्ता नेकपा-माओवादीतिर लागेका छन्। माओवादीले थबाङलाई चुनाउ प्रचारप्रसार निषेधित गाविस भनेका छन्। जिल्ला निर्वाचन कार्यालयले पठाएको चुनाउ प्रचार सामग्री पनि थबाङस्थित प्रहरी कार्यालयमै थन्किएको छ।
थबाङका घरका भित्ता र पर्खालमा चुनाव बहिष्कारसम्बन्धी नारा, पर्चा र पम्पलेटमात्र देखिन्छन्। जताततै ‘जसले माग्छ भोट, उसले खान्छ चोट’ भन्ने नारा लेखिएका छन्।
एमाओवादीका गाविस इन्चार्ज ग्रिस पुन, विनप्रसाद पुनलगायत थबाङमा द्वन्द्व ननिम्तियोस् भनेर चुनाउ प्रचारमा निस्किएनन्।
अघिल्लो निर्वाचनमा थबाङका सबै मतदाताले माओवादीका पुष्पकमल दाहालका पक्षमा मतदान गरेका थिए। त्यतिबेला तीन हजार ६ सय मत सबै दाहाललाई गएको थियो।
मुलुकका तीन हजार नौ सय १५ गाविसमध्ये थबाङले पञ्चायतकालदेखि नै भिन्न अस्तित्व राख्दै आएको छ। थवाङका सबै बासिन्दा २०१५ सालमै कम्युनिस्टका पक्षमा उभिएका थिए। जनमत संग्रहमा पनि थबाङका बासिन्दाले बहुदलमा मतदान गरेका थिए। यही कारण तत्कालीन राजा वीरेन्द्र २०४५ सालमा थबाङ आएका थिए।
२०३८ सालमा भएको पञ्चायती निर्वाचनमा थबाङका बासिन्दाले खाली मतपेटिका फिर्ता पठाएका थिए। थबाङका पुराना कम्युनिस्ट नेता गोरे जहिले पनि थबाङका बासिन्दा राष्ट्रियता, स्वाधीनता र परिवर्तनका पक्षमा उभिएको बताउँछन्।
पञ्चायतदेखि नै थबाङका बासिन्दामा ‘एन्टी स्टेट’ मनोविज्ञान छ। सशस्त्र द्वन्द्वका बेला थबाङमा सरकारी उपस्थिति कहिल्यै हुन सकेन। भीषण अप्रेसनका नाममा मात्र सरकारी सेना र प्रहरी थबाङ पुगे। पञ्चायतकालमा पनि थबाङमा सेना परिचालन भएको थियो। सशस्त्र द्वन्द्वका बेला सेनाको आक्रमणमा थबाङका १९ सर्वसाधारणको घर खरानी भएको थियो, ३३ जना मारिएका थिए। धेरै महिला बलात्कृत भए। त्यसले गर्दा थबाङका बासिन्दामा ‘राज्यविरुद्ध’ मनोविज्ञान विकास भएको छ।
एमाओवादी सत्तामा पुगे पनि अध्यक्ष दाहालले विगतका बाचा पूरा नगरेको भन्दै थबाङ उनको विपक्षमा छ। थबाङकै फुन्टीबाङमा तत्कालीन विद्रोही माओवादीको चर्चित केन्द्रीय बैठक हुँदा थबाङकै बासिन्दाले सुरक्षा दिएका थिए। सशस्त्र द्वन्द्वका बेला दाहाल, बाबुराम भट्टराई र मोहन वैद्यको अखडा पनि थबाङ नै थियो।
दाहालले विगतका आश्वासन लत्याएको थबाङका बासिन्दाको निष्कर्ष छ। पार्टी विभाजन नहुँदै दुई लाइन संघर्षकै बेला थबाङका बासिन्दाले दाहाललाई वास दिएका थिएनन्। पार्टी विभाजनपछि थबाङका बासिन्दा दाहालप्रति पूरै आक्रोशित छन्। द्वन्द्वका बेला ज्यानै दिन तयार रहेका थबाङका बासिन्दालाई शान्तिप्रक्रियापछि दाहाल र एमाओवादीले बेवास्ता गरेको असन्तुष्टि छ।
२०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट क्षेत्र नम्बर २ मा विजयी बरमान बुढामगर पनि थबाङका हुन्। उनी अहिले निष्क्रिय छन्। संविधानसभा उपनिर्वाचनमा विजयी थबाङका सन्तोष बुढामगर माओवादीका केन्द्रीय सदस्य छन्। उनको सक्रियतामा थबाङमा ‘शून्य मतदान’ को तयारी भएको हो। ‘दलाल र पुजीपतिको नौटंकीको चुनाव थबाङीलाई चाहिएको छैन’, बुढामगरले भने।
थबाङमा एकाध एमाओवादी कार्यकर्ता भए पनि उनीहरूलाई मतदान नगर्न माओवादीले चेतावनी दिएको छ। एमाओवादी प्रचारमा हिँड्नेको घरमा आगो लगाइदिने धम्की पनि माओवादी कार्यकर्ताले दिएका छन्। साभारः अन्नपूर्ण दैनिक
प्रकाशित मिति:
November 18, 2013