संरक्षण नहुँदा ऐतिहासिक देवल जीर्ण
दिप बहादुर घर्ति/जाजरकोट
जाजरकोट पजारु ८, घोगी स्थित ऐतिहासिक ढुंगे देवल जीर्ण बनेका छन् । संरक्षणको अभावमा ऐतिहासिक ढुंगे देवल जीर्ण बनेका हुन् ।
ऐतिहासिक र पुरातात्विक महत्व बोकेका ४ सय बर्ष पुराना यी स्तुप आकारका देवलको संरक्षण तर्फ कसैको ध्यान पुग्न सकेको छैन । विकट गाउँमा भएकाले पनि सम्बन्धित निकायले देवलको संरक्षणमा वेवास्ता गरिएको हो । १६ औं शताब्दी तिर भोटे राजाहरुले निर्माण गरेका उक्त कलात्मक देवल यतिबेला जीर्ण अवस्थामा रहेको स्थानिय शिक्षक वीरसिहं अधिकारीले बताए । घोगीमा भएका १५ देवल मध्ये २ वटालाई भत्काएर स्थानीयले अर्को मन्दिर निर्माण गरेका छन् । बाँकी १३ देवल र पजारु ७, डाँडागाउमा रहेको १ देवल जीर्ण भएको शिक्षक अधिकारी बताउछन ।
भोटेहरुले भित्र सुन, चाँदी लगाएतका मुल्यवान बस्तु लुकाएको भन्दै १५ बर्ष अघि केहि ब्यक्तिले उक्त बस्तु निकाल्ने निहुमा देवल भत्काएको उक्त शिक्षकले भनाई राखे । ढुंगै ढुंगाबाट बनेका देवल मर्मत संभार तथा प्रचार प्रसार गर्न सके पर्यटकीय दृष्टीले महत्वपूर्ण हुने अधिकारीको भनाई छ । जिल्लाका पजारु,जगतीपुर,पैंक,सुवानाउली,सक्ला लगाएतका गाउँ विकास समितिमा यस्ता विभिन्न आकृतिका ढुंगे देवल संरक्षणको अभावमा अलपत्र पर्दै आएका छन् ।
पजारुको ऐतिहासिक देवललाई स्थानीयले शिबको रुपमा पुजाआजा गर्दै आएका छन् । देवलमा भने बौद्ध शैलीमा विभन्न अक्षर कुँदिएका छन् । बौद्धमार्गी भोटे समुदायका मानिसले यी देवलको निर्माण गरेको स्थानीय बृद्ध खम्बे खत्रीले बताए । देवल भएको आसपासमा ढुंगे भवनको भग्नावेस, पानी पोखरी, कलात्मक ढुंगे धारा जस्ता ऐहासिक पूर्वाधार पाईएको खत्रीको कथन छ । भोटे राजाले बनाएको पोखरीमा पशु चौपाया डुब्न थालेपछि पोखरी माटोले पुर्नु परेको उनले बताए । तत्कालीन अवस्थामा भोटे राजाका सन्तती भागेपछि यहाँ अरु समुदायको बसोबास भएको उनको भनाई छ ।
पुरातत्व विभागले २ बर्ष अघि ८ लाखको लगानीमा ३ देवलको मर्मत गरेपनि खासै उपलब्धी नभएको स्थानीय खत्रीले बताए । विभागले काठमाण्डौंबाटै कालीगड पठाएर देवल मर्मत गरेको उनले बताए ।
प्रकाशित मिति:
November 04, 2013