माओवादीले ६ महिना चन्दा रोक्ने
माघ १५ । चन्दा आतंकले ग्रसित भएका उद्योग व्यवसायीहरु थोरै भए पनि खुसी हुने भएका छन् ।
संविधानसभा बहिस्कार गरेर संविधानसभामा नै भाग नलिने घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले ६ महिनासम्म चन्दा रोक्ने तयारी थालेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरणको सबैभन्दा ठूलो कारक पनि अपारदर्शी चन्दा संकलन भएको भन्दै चन्दा संकलन कार्य रोक्ने विषयमा बहस भईरहेको माओवादी केन्द्रीय सदस्य महेश्वर दाहालले हेलोखबरलाई बताए ।
![]() |
माओवादी पार्टी कार्यालय, बुद्धनगर |
आफ्नै आर्थिक संकलनका लागि बहुआयामिक कार्यक्रम सञ्चालन गर्ने रणनीति तयार गरेर अघि बढ्नुपर्ने भन्दै माओवादी भित्र यो बहस भईरहेको छ । जतिसुकै कार्यक्रम गरे पनि पार्टीहरूले चन्दा उठाउने गरेकोमा असन्तुष्टि पोख्दै आएका जनतालाई राहत दिन चन्दा संकलन अभियान पार्टीले बन्द गर्नुपर्ने बहस सुरु भएको हो।
पार्टीले जनताको पक्षका विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै नेता दाहालले अब पार्टीले जनताको भावना अनुसारका कार्यक्रम ल्याउने जानकारी समेत दिएका छन् ।
‘पार्टीले अब संविधान लेखनमा कुनै भूमिका निर्वाह गर्न सक्ने अवस्था छैन, त्यसैले आन्दोलनको कार्यक्रमसँगै जनजिविकाका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो,’ माओवादी सचिव देव गुरुङले राजधानी दैनिकमा भनेका छन्, ‘पार्टीले सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत भ्रष्टाचारविरुद्धको भण्डाफोर, कालोबजारी नियन्त्रण अभियान, लोडसेडिङविरुद्धको अभियान र राष्ट्रिय स्वाधीनताको अभियान मुख्य हुन् ।’
जनताको हितमा पार्टीको कामकारबाहीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुँदा विभिन्न जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा छलफल भएको अर्का सचिव नेत्र विक्रम चन्दले बताएका छन् ।
माओवादीले जनजीविकाका सम्बन्धमा आफ्ना एजेन्डाहरूले कहिल्यै नहारेको बताउँदै माओवादी नेताहरूले आफूहरूको अभियान सफल हुने बताएका छन् । आफूहरूले जनतको पक्षमा संविधान नबन्ने पक्का भएपछि सञ्चालन गरेको आन्दोलनलाई भने अझ सशक्त हुने उनीहरुको अठोट छ ।
प्रकाशित मिति:
January 29, 2014