सरकारले मुद्धा चलाए, जनसत्ता ब्युताउने र प्रधानमन्त्रीका विरुद्ध मुद्धा हाल्ने माओवादी चेतावनी
वैशाख ४ । जनयुद्धकालीन घटनालाई ब्युताएर शान्ति प्रक्रिया भाड्न खोजेको भन्दै नेकपा माओवादीले राजधानीमा विरोध प्रदर्शन गरेको छ । द्धन्द्धकालीन घटना सम्बन्धी मुद्धा ब्युताएर शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र गरेको भन्दै माओवादीले राजधानीमा बिहीबार विरोध जुलुस निकालेको हो ।
राजधानीको शान्ति बाटिकाबाट सुरु भएको जुलुस बागबजार, पुतलीसडक, भद्रकाली न्यूरो हुदैं शान्ति बाटिकामा कोणसभा गरी सम्पन्न गरिएको थियो ।
कोणसभामा बोल्दै माओवादीका नेताहरुले सरकारले जनयुद्धकाली मुद्धा ब्युताएर पक्राउ गर्ने र मुद्धा चलाउने काम नरोके जनसत्ता ब्युताएर आफूहरुले पनि मुद्धा चलाउने चेतावनी दिएका छन् ।
एमाओवादी केन्द्रीय सदस्य एकराज भण्डारीले राजनीतिक सहमतिमार्फत समस्या सुल्झाउन नलाग्ने हो भने प्रतिक्रियावादीहरुको अदालतमा गुहार माग्न नजाने भन्दै जनसत्ता पुनः ब्युताएर आफूहरुले पनि कारबाही थाल्ने चेतावनी दिए ।
सरकारले एकलौटी रुपमा मुद्धा चलाउने तथा पक्राउ गर्ने गर्नुले शान्ति प्रक्रिया भंग हुने भन्दै शान्ति प्रक्रिया भंग भएपछि स्वत जनसत्ता ब्युतिने उनको भनाई छ ।
अर्का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले युद्धका जघन्य अपराधलाई कारबाही गर्न नै नहुने नभनेको भन्दै उच्च स्तरीय आयोग गठन गरी समस्या समाधान गरिनुपर्ने बताए ।
उनले सरकारले जस्तो नीति लिन्छ त्यही अनुसार आफूहरु अघि बढ्ने भन्दै युद्ध थोपर्न चाहे युद्ध गर्न पनि तयार रहेको बताए । शान्तिपूर्वक बाचिरहेकालाई जबरजस्ती मुद्धा चलाइए आफूहरु पनि चुप लागेर नबस्ने उनको भनाई छ ।
माओवादी नेताहरुले सरकारले जनयुद्धकालीन मुद्धा रोकेर कार्यकर्ता रिहाई नगरे जनसत्ता ब्युताएर विमान अपहरण विषयमा प्रधानमन्त्री सुशिल कोइरालाका विरुद्ध मुद्धा हाल्ने चेतावनी समेत दिएका छन् ।
प्रकाशित मिति:
April 17, 2014