संसदमा नर्वेजियन दूतावासले दिएको पैसाबारे कुरा उठ्यो
वैशाख ४ । जनयुद्धकालीन घटना ब्युताएको भन्दै एमाओवादी सभासदले बिहीबार पनि संसद बैठक चल्न दिएनन् । बैठकको सुरुमै एमाओवादी सभासद शक्ति बहादुर बस्नेतले उठेर आफूहरुले उठाएको विषयप्रति सरकार गम्भीर नभएको भन्दै आपत्ती जनाए ।
सरकार इमान्दार नभएको भन्दै सभासद बस्नेतले कसैको व्यक्तिगत रुची वा समूहगत स्वार्थमा शान्ति प्रक्रिया चल्न नसक्ने बताएका थिए । उनले संसद बैठकमा नर्वेजियन दूतावासले पत्रकार कनकमणी दिक्षितलाई दिएको रकमबारे छान बिन गर्न माग समेत गरेका छन् ।
शान्ति प्रक्रिया भाड्न विदेशी दूतावासले एनजीओलाई पैसा दिएको आरोप लगाउदै उनले उक्त रकमबारे सत्यतथ्य बाहिर ल्याउन माग समेत गरे । उनले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीहरुविरुद्धको मुद्दा फिर्ता नलिएसम्म सदन बहिष्कार गर्ने घोषणा गरेपछि बैठक स्थगित भएको थियो ।
बैठकबाट बाहिरिदैं एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अदृश्य शक्तिको दबाबमा आएर प्रधानमन्त्रीले फुजेल घटनाको मुद्धा अदालतमा पठाएर ठूलो गल्ती गरेको प्रतिक्रिया दिएका छन ।
यसैबीच, लगातार अवरुद्ध भइरहेको व्यवस्थापिका संसदको बैठक संचालन गर्न प्रमुख तीन दलका शिर्ष नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा संसद बैठक सञ्चालनको वातावरण मिलाउने विषयमा तीन दलका शिर्ष नेताहरुबीच छलफल भएको थियो । बैठकमा कुनै ठोस सहमति भने हुन सकेन । बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सदन र सडक संघर्षको कार्यक्रम फिर्ता लिनका लागि प्रतिपक्षी एमाओवादीलाई आग्रह गरेका छन् ।
तर माओवादीले भने युद्धकालीन घटनामा मुद्धा चलाई पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाई गर्नुपर्ने र मुद्धा फिर्ता लिनुपर्ने बताएको थियो ।
प्रकाशित मिति:
April 17, 2014