सरकारी कर्मचारीले पढाए प्रचण्डलाई
चैत्र २३ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सधैं मञ्चबाट अरूलाई भाषण सुनाउने नेता हुन् तर शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा उनलाई सरकारी कर्मचारीले पढाए। त्यो पनि कूटनीतिक आचरण र शिष्टाचारबारे। दाहालले दर्शकदीर्घामा बसेर कर्मचारीले पढाएका विषय ध्यानपूर्वक सुने।
एमाओवादी अन्तर्राष्ट्रिय विभागले अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेट्दा पालना गर्नुपर्ने कूटनीतिक आचारसंहिता र शिष्टाचारबारे नेतालाई पढाउने व्यवस्था मिलाएको हो।
प्रशिक्षक थिए, परराष्ट्र मन्त्रालयका कर्मचारी। पूर्वपरराष्ट्रमन्त्री रहेका नेता नारायणकाजी श्रेष्ठले एमाओवादीमा अन्तर्राष्ट्रिय विभागको नेतृत्व लिएपछि यस्तो पहल गरेका हुन्।
गत माघमा भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहाल र नेता बाबुराम भट्टराईले कूटनीतिक आचारसंहिता र प्रोटोकलको ख्यालै नगरी भारतीय गुप्तचर संस्थाका प्रतिनिधिसँग भेट गरेर गल्ती गरेको आरोप लागेको थियो। शनिबारको प्रशिक्षणमा भट्टराई भने सहभागी थिएनन्।
प्रशिक्षणले दाहालसहित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग नियमित भेटघाट गर्ने, ब्रेक फास्ट, लन्च र डिनर गर्ने नेतालाई आत्मसमीक्षा गर्न सजिलो भएको विभागका एक नेताले बताए।
ती नेताले भने, ‘कूटनीतिक आचारसंहिता पालना गर्दा राष्ट्रिय स्वाभिमान र प्रतिष्ठा बढाउन मद्दत पुग्छ। आचारसंहिता आफूले पालना गरेर अरूलाई पनि उत्प्रेरित गर्न अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।’
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, शिष्टाचार महापाल कालीप्रसाद रिजाल र परराष्ट्र मामिला तथा अध्ययन प्रतिष्ठानका निर्देशक ऋषि अधिकारीले कूटनीतिक आचारसंहिता र शिष्टाचारबारे दाहाल, पोस्टबहादुर बोगटी, कृष्णबहादुर महरा, वर्षमान पुन, शक्तिबहादुर बस्नेतसहित एमाओवादीका तर्फबाट मन्त्री भइसकेका नेता, सभासद् र केन्द्रीय सदस्य गरी करिब एक सय ५० जनालाई पढाएको खबर अन्नपूर्ण दैनिकमा रेवती सापकोटाले लेखेका छन् ।
सचिव बैरागी र निर्देशक अधिकारीले कूटनीतिक आचारसंहिता र रिजालले शिष्टाचारबारे प्रशिक्षण दिएका थिए।
‘कोसँग कसरी भेट्ने, भेट्दा कूटनीतिक आचरण कस्तो हुनुपर्ने, कस्तो व्यवहार दर्शाउनेजस्ता विषय प्रस्तुत गरिएको थियो’, कार्यक्रम सञ्चालक विभागका कार्यालय सचिव युवराज चौलागार्इंले भने। सचिव बैरागीलाई उद्धृत गर्दै चौलागाईंले भने, ‘कूटनीतिक आचारसंहिता सरकार र प्रशासकहरूले त मान्नैपर्छ, राजनीतिक नेतृत्वले पनि ध्यान दिए देशको इज्जत बढ्थ्यो।’
श्रेष्ठ परराष्ट्रमन्त्री भएका बेला सरकारले बनाएको कूटनीतिक आचारसंहितामा अपवादबाहेक राजनीतिक नेतृत्वले एक्लै कुनै पनि विदेशीसँग भेट्न नहुने, परराष्ट्र मन्त्रालयको ब्रिफिङ लिएर भेट्नुपर्ने, भेटिसकेपछि परराष्ट्रलाई जानकारी दिनुपर्ने, समकक्षीसँग मात्रै भेट्नुपर्ने, अरूसँग शिष्टाचार मात्रै भेट्नुपर्ने, विषयगत वार्ता गर्न नहुने, छात्रवृत्ति र आर्थिक सहयोग माग्न नहुने उल्लेख छ। त्यसैगरी शिष्टाचारमा विदेशी पाहुनालाई कसरी स्वागत गर्ने, कुन साइडमा बस्ने, पोसाक कस्तो लगाउने, बिदाइ कसरी गर्ने जस्ता विषय छन्।
प्रशिक्षणमा अरू नेताले प्रश्न सोधे पनि दाहालसहित शीर्ष नेताले भने केही पनि सोधेनन्। ‘प्रशिक्षार्थीका रूपमा कार्यक्रम अवधिभर रहेर अध्यक्षले ध्यानपूर्वक सुन्नुभयो, उहाँले प्रश्न गर्नुभएन तर अरू साथीहरूले प्रश्न राख्नुभएको थियो’, चौलागाईंले भने, ‘सुरक्षा निकायले विदेशीलाई बोलाएर भेट्नु कूटनीतिक आचारसंहिताभित्र पर्छ कि पर्दैनरु एनजीओ आईएनजीओले सरकारमार्फत नगई आफै गाउँबस्तीमा कार्यक्रम सञ्चालन गर्दा के हुन्छरु जस्ता जिज्ञासा प्रशिक्षणका क्रममा उठेका थिए।’
कतिपय नेताले परराष्ट्र मन्त्रालयलाई सुझाउ पनि दिएका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सरकारमार्फत कार्यक्रम सञ्चालन गर्ने अनुमति दिनुपर्ने, जनस्तरको कूटनीतिक सम्बन्ध विस्तारमा मन्त्रालयले ध्यान दिनुपर्नेजस्ता सुझाउ सहभागीले दिएको चौलागाईंले बताए।
प्रकाशित मिति:
April 06, 2014