माओवादीको सम्पत्ति समेत रोक्का गरिएको भन्दै ज्ञापनपत्र
जाजरकोट २४ चैत्र । नेपाल कम्युनिष्ट पार्टी–माओवादी निकट राष्ट्रिय यूवा जनस्वयमसेवक जाजरकोटले आईतवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
संगठनका अध्यक्ष लगायत देशभरी सयौंको संख्यामा माओवादी नेता कार्यकर्ताहरुको सम्पति रोक्का गर्ने, म्याद टाँस्ने, गिरफ्तार गर्ने, वारेण्ट जारी गर्ने, विगत द्धन्दका क्रमका राजनैतिक मुद्धाहरु व्युताउने जस्ता सरकारी पक्षबाट भैरहेका कार्यहरु तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षनको लागि प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाईएको हो ।
प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापन पत्रमा वास्तविक संविधान सभाको विघटन पश्चात् गठित कृतिम संविधानसभा र सो द्वारा निर्वाचित सरकारले गरेको व्यवहार विस्तृत शान्ति सम्झौता विपरीत देशलाई गृहयुद्धमा धकेल्ने प्रपञ्चको एक कडी भएको उल्लेख गरिएको छ । पत्रमा सम्पति रोक्का सम्बन्धिको आदेश खारेज गर्न, गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्व रीहा गर्न, वारेण्ट जारी गरीएका मुद्दाहरु खारेज गर्न वर्तमान सरकारका प्रधानमन्त्री समक्ष सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत हाम्रो संगठन जोडदार माग गर्दछ भनिएको छ ।
राष्ट्रिय यूवा जनस्वयमसेवक जाजरकोटले प्रधानमन्त्री समक्ष बुझाईने भनिएको ज्ञापन पत्रलाई बुझ्दै सरल,सुलभ तरिकाले यथासक्य प्रधानमन्त्रीको कार्यालय सम्म पुर्याउन आफु सकारात्मक भएको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले वताए । राष्ट्रिय यूवा जनस्वयमसेवक जाजरकोटका संयोजक पौरख मल्लको नेतृत्वमा गएको टिमले ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।
विगत माघ महिनाको अन्तिम सातातिर जिल्ला अदालतवाट गएको एक टोलीले विगत युद्धको वेलाका मुद्धा किनारा नलाग्दा सम्मलाई भन्दै पजारु गाविस वडा नं.१ ठेगाना भएका राष्ट्रिय युवा जनस्वयमसेवक केन्द्रिय अध्यक्ष उदय चलाउने (दिपक) लगाएत शेर बहादुर चलाउने, वडा नं.४ का नर बहादुर महतरा, वडा नं.९ का गणेश रोका, सैल्यन्द्र र गर्खाकोट ९ का वीर बहादुर रावतको जग्गा रोक्का गरेको छ । उक्त विषयहरुलाई लिएर आफुहरुले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको राष्ट्रिय युवा जन स्वयमसेवक जाजरकोटले जनाएको छ ।
प्रकाशित मिति:
April 07, 2014