सहमति नभए निर्वाचनबाटै समिति सभापति
बैशाख १ । संविधानसभाका समितिहरूको नेतृत्वका लागि वैशाख ५ सम्म सहमति नभए निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सर्वसम्मतिका लागि दलहरूबीच भइरहेका प्रयासलाई वैशाख ५ पछि पर्खन नसकिने जनाउ दिएपछि यस्तो संकेत देखिएको हो । संविधानसभाका कार्यसञ्चालन नियमावलीअनुसार पनि समिति सभापति पदमा सर्वसम्मत नभएमा संविधानसभा अध्यक्षले तोकेको मितिमा निर्वाचन गर्ने उल्ल्ख छ । कांग्रेस, एमाले र एमाओवादीका वरिष्ठ नेताहरूसँगको छलफलमा उनले समितिहरूको नेतृत्व र मन्त्रिपरिषद्ले गर्नुपर्ने २६ सभासद मनोनयन तत्काल गर्न ध्यानाकर्षण गराएका हुन् । कार्यतालिकाअनुसार वैशाख १५ सम्म समितिहरूको नेतृत्व चयन गरिसक्नुपर्छ ।
प्रकाशित मिति:
April 14, 2014