लालपूर्जा पाएको १६ बर्ष विती सक्दा पनि पाएनन् जग्गाधनीले जग्गा किनवेच गर्न
दिप बहादुर घर्ति
जाजरकोट १८ असार । खलंगामै पर्ने पुराना रिसाङको जग्गा छुट नापी भएर जग्गा धनीहरुले लालपूर्जा पाएको १६ बर्ष विती सकेको छ । हाल सम्म जग्गा धनीहरुले जग्गा कानुनी रुपले किनवेच गर्न पाएका छैनन ।
खलंगा गाविसको वडानं. ७ मा पर्ने पुरानो रिसाङ, दुल्या र वडानं. ९ मा पर्ने भुन्या, फट्क्यौलामा स्थायी रुपमा बसोवास गर्दै आउनेहरुको संख्या २ सय ५० घरधुरी भन्दा माथि रहेको छ । जिल्ला भरीका भुभागमा रहेको सबै जग्गा नापी कार्यालयले २ हजार ४५÷४६ सालमा नापी गरी मालपोत कार्यालयले जग्गाधनी पूर्जा वितरण गरेता पनि उक्त पुरानो रिसाङ क्षेत्रको जग्गा १० बर्ष पछि छुट नापीका रुपमा २ हजार ५५ सालमा नापी भई जग्गा धनीपूर्जा वितरण गरिएको जिल्ला नापी र मालपोत कार्यालय जाजरकोटले संयुत्तः रुपमा जनाएका छन ।
जग्गा धनीहरुले कानुनी रुपमा जग्गाको मान्यता पाएको आज १६ बर्ष विती सकेको छ । मन्त्री परिषदको अर्को निर्णय नआउदा सम्म कानुनि रुपमा जग्गा किनवेच गर्न नपाई जिल्ला मालपोत कार्यालयले जनाएको छ । २ हजार ५५ सालको तत्कालिन सरकारले त्यस क्षेत्रमा बसोबास गर्ने सबै समुदाय सकुमबासी भएको ठहर गर्दै छुट नापी गरेर एक मुष्ट लालपूर्जा वितरण गरिएको जाजरकोट जिल्ला मालपोत कार्यालय प्रमुख जनक बहादुर हमालले वताए ।
पुरानो रिसाङमा वितरण गरिएका लालपूर्जाका श्रेष्ताहरु खोल्न नहुने भन्दै जिल्ला मालपोत कार्यालयमा लाहँछाप लगाएर थन्काईएको छ । लाहँछाप लगाएको श्रेष्ताको पोकालाई धमेराले खाई सकेको स्पष्टै देख्न सकिन्छ ।
नापी भई लालपूर्जा पाएको लामो समय विति सक्दा पनि जग्गा किनवेच गर्न नपाउदा आफुहरुलाई निकै अप्ठेरो परिरहेको स्थानिय राजेश वि.क. वताउछन । भालुको कन्चट समाते जस्तो नत जग्गा किनेर वढाउन मिल्छ नत जग्गा बेचेर घटाउन मिल्छ वि.क. ले तर्क गरे ।
आफुहरु सुकुमवासी नभएर परापुर्व काल देखि नै उक्त जग्गा जमिन उपभोग गर्दै आएका जग्गाको मालिक भएको स्थानिय कैलास चनारा वताउछन । १९ सय ९० सालको नापीमा नापी गर्न पूर्खाले छुटाएता पनि त्यो भन्दा पहिले देखि आफुहरुले उक्त जग्गा चलन भोग गर्दै आएको चनाराको दावी छ । उनी ईतिहासको स्मरण गर्दै जाजरकोट शाह राजा र काजीहरुको बोल चल्ने जिल्ला भएको उल्लेख गरे । पुरानो रिसाङ लगाएत त्यस क्षेत्रको सबै ठाउँलाई जाजरकोटका काजीहरुले मृगको सिकार गर्ने बैसाख, जेठ महिनामा भैसी पाल्ने खर्कका रुपमा दावी गरेको हुदा ४५÷४६ सालको नापीमा काजीहरुले जग्गा दर्ता गर्न नदिएर समस्यामा पारेको गुनासो चनाराले गरे ।
आफ्नो सैरका लागी उपभोग गर्दै आएका जाजरकोटका काजीहरुले २८÷२९ साल तिर पुराना रिसाङमा बसोवास गर्दै आएका स्थानिहरुका घर गोठहरुमा आगो लगाई दिएका थिए । यस क्षेत्रको जग्गाकै विषयलाई लिएर स्थानिय र काजीहरु विच वेलावेलामा विवाद हुदै आएको थियो । लामो समय सम्म चलेको विवादका कारण २ हजार ३० सालमा तप्त बहादुर कार्कि ( जेठा काजी ) लाई डिङ्गाका टेक बहादुर थापाले गोली चलाएका थिए । उक्त गोली काण्डको अदालतमा मुद्धा चल्दा मुद्धाले निकै लामो समय लिएको थियो ।
प्रकाशित मिति:
July 02, 2014