पीडित बालिकालाई सहयोग हस्तान्तरण
भदौ २५ । झापा, सतासीधाम–९ की १५ वर्षीया कुमारी दर्जीलाई दमकका दुईवटा महिला संस्थाले सहयोग उपलब्ध गराएका छन् ।
बलात्कारबाट गर्भवती भएकी ती विपन्न बालिकाको पालनपोषणका लागि नारी एकता न्यायिक मञ्च र महिला सशक्तीकरण केन्द्रले सङ्कलन गरेको रु ३५ हजार ५२५ पीडितलाई प्रदान गरिएको हो ।
आज बिहान मञ्चको कार्यालयमा बालिकालाई सो सहयोग हस्तान्तरण गरिएको थियो । सो सहयोग रकम मञ्चकी अध्यक्ष तारा शाही र केन्द्रका सचिव सुमित्रा वाङ्देलले संयुक्तरुपमा प्रदान गर्नुभएको थियो ।
ती दुवै संस्थाले ती बालिकाको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले रकम जुटाएर सहयोग गरिएको मञ्चकी सहसचिव लक्ष्मी सुब्बाले जानकारी दिनुभयो ।
पीडित बालिकामाथि भएको अपराधकाविरुद्ध जिल्ला अदालत झापामा नाता कायमसम्बन्धी मुद्दा विचाराधीन रहेको बताइएको छ ।
प्रकाशित मिति:
September 10, 2014