बेथितिको हद, कोशी राजमार्ग आयल निगमको पार्किङक्षेत्र
खिलानाथ ढकाल
विराटनगर, असोज १३ आइतबार दिउँसो विराटनगर कञ्चनबारी र आयल निगम क्षेत्र एक घन्टा सडक जाममा फँस्यो। हजारौं गाडी ओहोरदोहोर गर्ने कोसी राजमार्ग यसरी जाममा पर्दा यात्रु तथा स्थानीयलाई खपिनसक्नु पीडा भयो।
आइतबारमात्र हैन, कोसी राजमार्गको यो क्षेत्र दिनहुँजसो जाममा पर्छ। कारण हो – आयल निगम क्षेत्रीय कार्यालयका ट्याङ्कर।
वर्षौंदेखि आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले कोसी राजमार्गलाई ट्याङकरहरूको पार्किङक्षेत्र बनाएको छ।
तेल भरेर आउने र अनलोड गरेर निस्किने आयल निगमका ट्याङकरहरूका कारण दिनहुँ स्थानीय तथा यात्रुले हैरानी खेप्दै आएका छन्। कोसी राजमार्गको आधा लेन सडक मिचेर आयल निगमका ट्याङ्करहरू पार्किङ गर्ने गरिएको छ।
‘२० औं वर्ष भयो यस्तो भएको, खै कसैलाई वास्ता छैन,’ वर्षौंदेखि यस्तो हैरानी नियालिरहेका विराटनगर–५ का सुशील घिमिरेले सेतोपाटीलाई भने,‘बाटोमा निस्किँदा गाडीले ठक्कर देला भन्ने औधी पीर हुन्छ।’
सडकको सर्वमान्य नियमको यहाँ कसैले ख्याल गरेका छैनन। सडक नियम सिकाउने ट्राफिक प्रहरी मुकदर्शक बनेर बसेको स्थानीयले आरोप लगाएका छन्।
‘सडक नियम ट्राफिक प्रहरीलाई हामीले सिकाउनुपर्ने बेथिति हामीले व्यहोरिरहेका छौं,’ घिमिरेले भने, ‘यहाँ बस्ने ट्राफिकले मोटरसाइकल रोकेर जरिवाना काट्छन् तर सडक मिचेर ट्याङ्कहरू राख्दा भने सिठ्ठी फुक्न समेत संकोच मान्छन्।
घिमिरे पेट्रोलियम डिलर्स एशोसिएसनमा वर्षौं काम गरेका व्यक्ति हुन्। उनले आफू पेट्रोलियम डिलर्स एशोसिएसनमा रहँदा पेट्रोलियम व्यवसायीले पटक–पटक वैकल्पिक व्यवस्था मिलाउन आयल निगमलाई अनुरोध गरेको बताए।
‘यतैछेऊको जग्गा भाडामा लिएर पार्किङक्षेत्र बनाऔं भनेर जग्गै देखाइदिँदा पनि निगमले चासो दिएन,’ घिमिरे भन्छन्, ‘नाफामा भएको भन्दै कर्मचारीलाई करोडौं बोनस बाँड्ने निगमले ट्याङ्कर पार्किङका लागि थोरै बजेट छुट्याउन नसक्नु लाचारी हो।’
स्थानीयका अनुसार कञ्चनबारी छेऊको पेट्रोलपम्पदेखि झन्डै पाँच सय मिटर उत्तर दुधफारम क्षेत्रमा आधा सडक ढाकेर महिना दिनसम्म ट्याङकर पार्किङ गरिन्छन। भारतबाट तेल भरेर लस्करै आउने ट्याङ्कर आएर सिधै सडकमा पार्किङ हुन्छन्। तर ट्राफिक प्रहरीले हटाउने वा किनारा लगाएर पार्किङ गराउन चासो नदिएका कारण सडकको बेहाल भएको स्थानीय बताउँछन्।
यो क्षेत्रमा हुने अधिकांश दुर्घटना निगमका ट्याङ्करको अव्यवस्थित पार्किङले हुने गरेको स्थानीयको भनाइ छ ।
नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सडकमा ट्याङकर पार्किङ राख्दा समस्या निम्ति पनि वैकल्पिक व्यवस्था नहुँदा अफ्ठेरो परेको बताएको छ। आयल निगम क्षेत्रीय प्रमुख सीताराम पोखरेलले ट्याङ्कर पार्किङका लागि जग्गा भाडामा लिन बारम्बार केन्द्रीय कार्यालयमा भन्ने गरिएको बताए।
‘यहाँबाट हाम्रो निर्णयले जग्गा भाडामा लिएर पार्किङक्षेत्र बनाउन हुँदैन, यो केन्द्रीय कार्यालयले नै गर्ने हो,’ पोखरेलले भने, ‘उसले टेन्डर आह्वान गरेको छैन, हामी कुरा गरिरहेकै छौं ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक विजय श्रेष्ठले निगमका ट्याङकर सडकबाट हटाउन हम्मे पर्ने गरेको सुनाए। उनले निगमलाई सडकका ट्याङ्कर हटाउन बारम्बार भनिरहेको बताए।
‘सय(डेढ सयवटा ट्याङ्कर एकैठाउँ पार्किङ गरिएका हुन्छन्,’ श्रेष्ठले भने, ‘सबैलाई जरिवाना काटेर कारबाही गर्न साध्य छैन ।’
प्रकाशित मितिस् सोमबार, आश्विन १३, २०७१ १२स्३७स्१७
सेतोपाटी अनलाईनवाट साभार
प्रकाशित मिति:
September 29, 2014