छठका लागि बेहुलीझैँ सिङ्गारियो जलाशयहरूलाई
जनकपुरधाम, ११ कात्तिक । शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्व मनाउन यहाँका इतिहास वर्णित जलाशयहरूलाई सरसफाइ गरी बेहुलीझैँ सिङ्गारिएको छ ।
गङ्गासागर, अरगजा, रुक्मिणी, विहारकुण्ड, दशरथ तलाउ, महाराजसागर, धनुषसागर, रत्नसागर र रामसागरमा मनाइने छठ अत्यन्त मनमोहक हुन्छ ।
जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रूपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् ।
नगरको बीच भागमा रहेका यी पोखरीहरूमा प्रत्येक वर्ष छदेखि १५ हजार छठैतिन र छठका व्रतालुले छठपर्व गर्ने गरेको अनुमान छ ।
जीवनदायी शक्ति सूर्य देवता र छठी माताको आराधना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ ।
समाजका बूढापाकाहरूका अनुसार यो पर्व महिलाले खास गरेर पुत्र पाउने इच्छावस मनाउने गर्छन् । केहीले पाएका सन्तानको सफल धनधान्य जीवनका लागि मनाउने गर्दछन् ।
मिथिला संस्कृतिमा छठ पूजा गर्ने व्यक्तिहरूले पहिलो दिन अस्ताएको सूर्यलाई नै पूजा गरेर रातभरि जाग्राम बस्ने गर्दछन् र बिहान उदाउने सूर्यको प्रतीक्षारत रहँदा चढाउने प्रसाद दुई दिन पूर्वदेखि उपवास बसी तयार पार्ने गर्दछन् ।
छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी÷छठीबाट छठ हुन गएको बुझिन्छ ।
सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवम् चर्मरोग निको हुने जनविश्वास छ ।
छठ पर्वमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौण रूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशङ्कर एकअर्काका पूरक हुन् र एउटाको पूजा गर्दा दुवैको भागमा हुन्छ ।
षष्ठीका देवीलाई कार्तिकेयकी पत्नी मानिन्छ र षष्ठी देवीलाई प्रकृतिको छैटौँ अंश र देवसेना पनि भनिन्छ ।
पौराणिक ग्रन्थहरूमा छ अंश षष्ठी र एक अंश सूर्यलाई मानिएकाले षष्ठीलाई छठमाता र सप्तमीलाई सूर्य मानिन्छ ।
षष्ठी र सूर्य गरी सात अंश बनेकै कारण मानव जीवनमा सात अङ्कको अधिक महत्व रहेको छ ।
संस्कृतिविद् डा. राजेन्द्र विमल षष्ठीका दिन बेलुकी अस्ताउन थालेको सूर्यलाई दिइने अर्घ छठमाताको हुन्छ तथा सप्तमीको उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्छन् ।
विभाजन, द्वेष, एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने वर्तमान अवस्थामा सबैलाई एउटै स्थलमा उभ्याउने र मानवलाई मानव भएर जीउनमा सहयोगीसमेत सिद्ध भएको छ, छठ पर्व ।
प्रकाशित मिति:
October 28, 2014