आइतबार जे पनि हुनसक्ने, हौसिएका छन् सत्ताधारी तर बिच्किए विपक्षी
माघ । लगातारको विपक्षी नाराबाजीपछि शुक्रबार पनि संविधानसभाको बैठक अवरुद्ध भयो । बैठक अवरुद्धपछि सभामुख नेम्वांगले आइतबार गतिरोध हट्ने बताए । उनले बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै जनताले संविधान कसरी बन्छ भनेर जवाफ खोजेको भन्दै अब पछाडि फर्केर नहुने र एकै ठाउँमा पनि उभिएर नहुने भन्दै प्रक्रिया अगाडी बढाउने बताए ।
उनको भनाईपछि सत्ता पक्षीय कांग्रेस एमाले नेताहरु भने हौसिएका छन् । तर, विपक्षी एमाओवादी भने हदै तरंगित रुपमा बिच्किन पुगेको छ ।
विपक्षी मोर्चाले बैठक बसेर प्रक्रियामा जान नदिने निर्णय गरेको छ । त्यति मात्रै होइन, ३० दलीय मोर्चा संयोजक पुष्पकमल दाहालले सहमतिमा फर्कन कांग्रेस–एमालेसहित सत्तापक्षीय दललाई आग्रह गर्दै प्रस्ताव आफैं सभाध्यक्षले पढेमा सभाध्यक्षको गरिमा समाप्त हुने चेतावनी समेत दिएका छन् ।
संविधानसभाको बैठक केही दिन पर सारेर सहमतिको नेतृत्व गर्न गठबन्धनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेको छ ।
तर, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एकीकृत माओवादीलगायतका विपक्षी दलहरुको मागअनुसार संविधानसभाको बैठक स्थगित गर्न नसकिने स्पष्ट पारेका छन् ।
सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा शनिबार सन्चारकर्मीसँगको भेटमा सभाध्यक्ष नेम्वाङले संविधानसभा नियमावली र प्रचलित अभ्यासकै आधारमा आइतबार आफूले प्रश्नावली निर्माणको प्रक्रिया अघि बढाउने भन्दै बैठक रोक्न नमिल्ने बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि संविधानसभामा प्रश्नावली समिति बनेपछि मात्रै विपक्षी दलहरुसँग वार्ता गर्न सकिने बताएका छन् ।
यसरी, सत्ता पक्षियले जसरी पनि प्रक्रिया अन्तर्गत प्रश्नावली समिति बनाएरै छाड्ने र विपक्षीले जसरी पनि रोक्ने प्रयास गर्नुले आइतबार बस्ने संविधानसभाको बैठकमा जे पनि हुन सक्ने देखिएको छ ।
प्रकाशित मिति:
January 25, 2015