स्वाइनफ्लु संक्रमित एमाले नेता ढकालको निधन
चैत्र २२ । स्वाइन फ्लूको संक्रमणबाट ग्रसित एमाले पोलिटव्यूरो सदस्य तथा पूर्वसभाषद रामनाथ ढकालको उपचारका क्रममा निधन भएको छ ।
बिगत केही दिनदेखि धापासी स्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका ढकालको आइतबार दिउसो १ः४० बजे निधन भएको एमाले केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।
ढकाल एक भन्दा बढी रोगबाट संक्रिमत रहेको र सक्दो प्रयास गर्दा पनि बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
उनको उपचार भइरहेको ग्रान्डी इन्टरन्यासनल अस्पतालका प्रमुख डा. चक्रराज पाण्डेले क्षयरोग भएका कारण साढे चार महिनादेखि नेता ढकालको उपचार भईरहेको बताएका छन् । उनले ढकाललाई थप रक्त कोषिकालाई बेकम्मा बनाउने लिम्फोप्रोलिफरेटिभ डिसअर्डर समेत भएको जनाएका छन् ।
वि सं २०१९ सालमा गुल्मी जिल्लामा जन्मिएका ढकाल एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा आवद्ध भइ राजनीतक यात्रा शुरु गरेका थिए । २०५० सालमा एमाले अखिलको केन्द्रीय अध्यक्ष समेत भएका ढकाल २०६४ को संविधनसभामा रुपन्देही ५ सभासदमा निर्वाचित भएका थिए ।
उनको पार्थिव शरीरलाई सोमबार बिहान पार्टी कार्यालय, बल्खुमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र ११ बजे पशुपति आर्यघाटमा विधिवत् दाहसंस्कार गरिने एमालेले जनाएको छ । उनका दुई श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रकाशित मिति:
April 05, 2015