सगरमाथाको उचाइ नेपालले नै मापन गर्नुपर्छ
रमेश लम्साल/रासस
काठमाडौँ, चैत । संसारभर नेपाललाई चिनाउने महत्वपूर्ण आधारका रुपमा सगरमाथालाई लिने गरिन्छ ।
संसारले मानेको र जानेको विषय पनि सगरमाथाको देशका नागरिकका रुपमा हामी परिचित छौं । तर सगरमाथाको उचाइबारे नै संसारभर फरक–फरक खालका टिप्पणी र दाबी आइरहेको छ । नेपालले आजसम्म आफ्नै साधन र स्रोतमा उचाइ मापन गर्न नसक्दा समस्या परेको भन्नेहरु पनि कम छैनन् । चीनले नेपाल र आम विश्वले मान्दै आएको उचाइभन्दा कम रहेको दाबी गर्दै आएको छ ।
चीन सरकारले सगरमाथाको चुचुरामा रहेको चट्टानको उचाइलाई आधार मानेर सगरमाथाको उचाइ डेढ मिटर कम अर्थात् आठ हजार ८ सय ४६.५ मिटर रहेको बताउँदै आएको छ । नेपालका नापी विज्ञले भने सगरमाथाको आधिकारिक उचाइ आठ हजार ८४८ मिटर नै रहेको बताउँदै आएका छन् ।
नेपालको सान र पहिचानका रुपमा रहेको विश्वको सर्वोच्च शिखरको नाप जाँच नेपाली प्राविधिकले नै गरेर हाल देखिएको विवाद समाधान गर्नुपर्ने विज्ञहरुको भनाइ छ । मुलुकको सम्पत्ति मात्रै हो भनेर बस्ने बेला नभएको भन्दै विज्ञहरुले सरकारले तत्काल बजेट र जनशक्तिको व्यवस्था गरेर उचाइ मापन गर्नुपर्नेमा जोड दिएका छन् ।
विदेशीले गरेको मापन जायज भए पनि विवाद उत्पन्न भएपछि सरकारले त्यसलाई प्रमुख चासोमा राखेर काम सुरु गर्नुपर्नेमा जोड दिँदै विज्ञहरुले फरक–फरक खालको उचाइले अन्ततः नेपाललाई नै समस्यामा पार्नेमा सचेत गराएका छन् ।
व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको आजको बैठकमा विज्ञका रुपमा उपस्थित हुनुभएका सीमाविद् बुद्धिनारायण श्रेष्ठ र भूमिसुधार तथा व्यवस्था मन्त्रालयका पूर्वसहसचिव कृष्णराज अधिकारीले सर्वोच्च शिखरको गरिमा र महिमा कायम राखिराख्न पनि नेपालीले नै उचाइको सत्यतथ्य पत्ता लगाउनुपर्नेमा जोड दिए ।
नेपालले सन् १९४९ मा भारतको सहयोगमा र सन् १९८५ मा इटालीको सहयोगमा मापन गरी तय गरेको सगरमाथाको उचाइलाई हालको आधिकारिक उचाइका रुपमा मान्दै आएको छ । सीमाविद् श्रेष्ठका अनुसार नेपाल–चीन सिमानासम्बन्धी नक्सा सन् १९७९ मा तयार पार्दा उचाइको विषयमा सहमति भएको थियो ।
हवाई सर्वेक्षणका आधारमा तयार पारिएको सो नक्सामा उचाइका बारेमा नेपाल र चीनबीच विवाद मिलेको थियो । अमेरिकन जोग्राफिकल सोसाइटीले सन् १९९० मा सगरमाथाको हालको साबिक उचाइलाई नै मान्यता दिएको भए पनि हिमालमा आउने भौगर्भिक परिवर्तनका कारण दुई मिटरभन्दा बढी हुने धारणा सार्वजनिक गरेको थियो । नेपालले पनि सगरमाथाको टाउकोमा रहेको हिउँलाई आधार मानेको छैन ।
सर जर्ज एभरेस्ट नेतृत्वको टोलीले गरेको पहिलो अध्ययनले पिक १५ नाम दिई त्यसको उचाइ आठ हजार ८४८ मिटर रहेको पत्ता लगाएको थियो । मानका खातिर पिक १५ को नाम एभरेस्ट राखिएको थियो भने बाबुराम आचार्यले सगरमाथाका नाम दिएका थिए ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयका पूर्वसहसचिव अधिकारी विश्वका विभिन्न समूह तथा सर्वेक्षक टोलीले अध्ययन गरेको भए पनि नेपालको आधिकारिक अध्ययन नहुँदा समस्या आएकाले तत्काल अध्ययन हुनुपर्नेमा जोड दिन्छन् ।
भूगर्भशास्त्रीका अनुसार नेपाललगायत हिमाल १२ करोड वर्ष पहिले बनेको हो । श्रेष्ठका अनुसार अस्ट्रेलिया र इन्डियन सब–कन्टिनेटलबीच भौगर्भिक असन्तुलनका कारण हिमालय पर्वत बनेको र हालका हिमालहरु कमजोर रहेका कारण एकाध सेन्टिमिटर तल माथि हुन सक्छन् ।
यही आधार मानेर अमेरिकन भूगर्भशास्त्रीले सन् १९९० मा सगरमाथाको उचाइ हाल कायम रहेको उचाइमा दुई मिटर थप भएको बताएको थियो । सन् २००१ मा नेसनल जोग्राफिकल सर्वेयरको टोलीले गरेको अध्ययनअनुसार उचाइको बारेमा अघिल्ला अनुसन्धानलाई नै सही मानेको सीमाविद् श्रेष्ठको भनाइ छ । तर उचाइ मापनका लागि रकमको जोहो भए पनि दक्ष प्राविधिकको अभाव रहने गरेको पूर्वसहसचिव अधिकारीको भनाइ छ ।
उहाँका अनुसार रु १० करोड बजेट विनियोजन हुने हो भने हाल उपलब्ध प्रविधिलाई प्रयोग गरेर एकाध महिनामा नै सत्यतथ्य जानकारी प्राप्त गर्न सकिन्छ । ‘‘सरकारले वैज्ञानिक विश्लेषण गर्नुप¥यो र विश्व समुदायलाई आश्वस्त पार्नुप¥यो, सँधै विवाद राखेर भएन’’– पूर्वसहसचिव अधिकारीले भने ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले आफू अर्थ मन्त्रालयमा रहँदा नै सगरमाथाको उचाइ मापनका लागि भनेर रु तीन करोड बजेट छुट्याइएको भए पनि रकमको सदुपयोग हुन नसकेको बताए ।
नेपालको सान र सम्पत्ति दुवै सगरमाथा रहेकाले पनि उचाइ मापनमा बजेट छुट्याउन कुनै समस्या नरहेको र मन्त्रालय त्यसका लागि तयार रहेको उनको भनाइ छ । ‘‘सरकारले ध्यान दिएर काम गर्ने हो भने उचाइ मापनमा समस्या छैन, मन्त्रालय नै त्यसका लागि नेतृत्व गर्न तयार छ’’–सचिव रेग्मीले भने ।
प्रकाशित मिति:
April 05, 2015