भूकम्प पीडितलाई वैद्य माओवादीको १० लाख
काठमाडौं १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी–माओवादीले महाभूकम्प पीडितलाई १० लाख दिने भएको छ । साथै राहत तथा उद्धार कार्यमा पदाधिकारीदेखि सेल सदस्य र समर्थकसम्म थप सक्रिय भएर लाग्ने निर्णय पनि माओवादीले गरेको छ ।
मोहन वैद्य नेतृत्वको माओवादीको केन्द्रीय कार्यालयको आकस्मिक रुपमा शनिवार बुद्धनगरमा बसेको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । माओवादीले संविधानसभा बहिस्कार गरेपनि सरकारकै मातहतमा रहेको राहत कोषमा भने रकम जम्मा गर्ने भएको हो ।
माओवादीले आफ्ना पार्टी सदस्यबाट रकम संकलन गरी १० लाख रकम प्रधानमन्त्री राहत कोषमा पार्टीका तर्फबाट जम्मा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।
माओवादीले आफ्ना सबै तहका नेता तथा कार्यकर्ता र समर्थकलाई रातह तथा उद्धार कार्यमा सक्रिय भएर लाग्न आग्रह समेत गरेको छ ।
पीडितका पुगे प्रचण्ड र भुसाल
महाभूकम्प लगत्तै एमाओवादीसहित अन्य पाँच माओवादीले घाइते तथा पीडितहरुको उद्धारमा लाग्ने निर्णय अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शनिबार राहत वितरणका लागि पीडितसम्म निस्किएका छन् ।
राहत वितरणका निम्ति उनी हरिसिद्धि उपमहानगरपालिका पुगेका थिए । सो बेला भूकम्पद्धारा ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै उनले यस्तो बेला सरकारले आवश्यकता र सम्भाव्यता अनुरुपको तदारुकता देखाउन नसकेको समेत जनाए ।
वैद्य नेतृत्वको नेकपा माओवादी प्रवक्ता पम्फा भुसाल पनि भूकम्प पीडितका लागि राहत वितरण गर्न पुगिन् । भुसालले ललितपुर जिल्लाको खोकना, बुंमती र हरिसिद्धि पुगेर पीडितहरुको अवस्थाबारे बुझेकी छिन् । उनले महाविपदको बेला राजनीति भन्दा माथि उठेर मानवताका निम्ति सबै एकजुट हुनुपर्ने बताएकी छिन् ।
प्रकाशित मिति:
May 02, 2015