ताप्लेजुङमा ३ लाख लगानीमा अलैंची नर्सरी सुरु
आलोक माबोहाङ् लिम्बू
ताप्लेजुङ । कमर्सियल एग्रीकल्चर एलायन्सको आर्थिक साझेदारी र जिल्ला कृषि विकास कार्यालय, ताप्लेजुङको प्राविधिक सहयोगमा ताप्लेजुङको जनमुखी कृषि सहकारी संस्था लिमिटेडले ३ लाख १५ हजार पाँचसय उनान्साठी रुपैयाँ बराबरको अलैँची नर्सरी केन्द्र संचालन गरेको छ ।
गत चैत्र ९ गते ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको तोक्मे डाँडामा आगलागी हुँदा सम्पूर्ण भौतिक सामाग्री गुमाएको जनमूखी कृषि सहकारी संस्था लिमिटेडले आगलागिपछि लगत्तै सो नर्सरीको थालनी गरेको हो ।
सोमबार नै एक कार्यक्रमबीच अलैँची नर्सरी केन्द्रमा लगानी भएको हालसम्मको लगानीको सार्वजानिक सुनुवाई जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत उमेश राउतको प्रमुख आतिथ्य, बरिष्ठ कृषि प्राविधिक एकनाथ भण्डारीको आतिथ्य र जिल्लामा सकृय राजनीतिक दल, संचारकर्मीको उपस्थितिमा ३ लाख १५ हजार पाँचसय उनान्साठी रुपैयाँ बराबरको सार्वजानिक लेखा परीक्षण गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राउतले अझ धेरै कृषि सहकारी संस्थाहरुले यस्ता उदाहरणीय काम गरे कृषि क्षेत्रको विकासमा राष्ट्र र ताप्लेजुङ जिल्लाको लागि ठूलो टेवा पुग्ने बताए । बरिष्ठ कृषि प्राविधिक एकनाथ भण्डारीले जिल्लामा ५ लाखभन्दा बढी अलैँची विरुवाको माग भएपनि यसपाल जिल्लाभित्रको १ लाख पचास हजार र बाहिरबाट १ लाखगरी जम्मा २ लाख पचास हजार अलैँचीको विरुवामात्र वितरण गर्न सकिने भएको हुनाले अलैँची नर्सरीको भविष्य राम्रो भएको बताए ।
फरक प्रसङ्गमा अलैँची नर्सरी केन्द्र संचालन गर्ने जनमूखी कृषि सहकारी संस्था लिमिटेडका संचालक तथा पदाधिकारीले भने जिल्ला विपद व्यवस्थापन समिति र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि समक्ष आगलागीबाट पीडित घरवाला र भाडामा बसेका सबैले राहत पाएको र पाईरहेको अवस्था तर जनमूखी कृषि सहकारी संस्था र केहि संघसंस्थाहरु प्रति प्रसाशन, जिल्ला विपद व्यवस्थापन समिति र राजनीतिक दलहरुले देखाएको उदासिनता प्रति आपत्ती जनाउँदै राहत सबै अग्नि पीडितले पाउनुपर्ने माग गरेका छन् ।
सार्वजानिक लेखा परीक्षण र अलैँची नर्सरी केन्द्र अवलोकनको क्रममा राजनीतिक दलका प्रतिनिधिले आवश्यक पहल गर्ने आश्वाशन दिएका छन् ।
प्रकाशित मिति:
May 25, 2015