यी हुन् बिजुलीको मिटर बिगारेर उद्योगबाट पैसा खाने कर्मचारी
काठमाडौं, ११ माघ । उद्योगहरुको मिलेमतोमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले बिजुलीको मिटर बिगारेर अनियमितता मच्चाउँदै गरेको प्रमाण फेला परेको छ । यसरी मिटर बिगारेर पैसा असुल्ने कर्मचारीलाई आइतबार महानगरिय अपराध महाशाखाले गिरफ्तार गरेको छ ।
विद्युत प्रधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठ, हेटौंडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान, बानेश्वर शाखाका इलेक्ट्रिशियन अच्युत खड्का, ग्राहक सेवा निर्देशनालयका मिटर रिडरहरु दिल बहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा,ठाकुर महर्जन, मनिज श्रेष्ठ, लगनखेल शाखाका सुर्य बहादुर थापा तथा भक्तपुरको पूर्व सुपरभाईजर भगवान पाण्डे र पूर्व मेन्टिनेन्स टहल बहादुर कार्की पक्राउ परेका हुन् ।
विगत १२ वर्षदेखि मिटर विगारिदिएर कम रकम उठ्ने गरी घुस दिनेहरु मञ्जुश्री खानेपानी उद्योगका सञ्चालक कुमार लामा, मिठाई पसल सञ्चालक तपन घोष, कपास ब्यापारी परवेज आलम तथा रामेश्वर मिठाई पसलका सञ्चालक रमेश चुँडाल समेत रहेका छन् ।
विद्युत चुहावट गरी लोडसेडिङ गराईरहेका माथि उल्लेखित कर्मचारीहरुले विजुलीको मिटर उल्टो घुम्ने गरी बिगार्ने गरेको प्रहरीले जनाएको छ । विद्युत कार्यालयका हाकिमहरुको समेत मिलेमतोमा यस्तो भईरहेको समेत प्रहरीले जनाएको छ, तर कार्यालयका हामिकहरु भने पक्राउ पर्न सकेका छैनन् ।
हेटौंडाबाट पक्राउ परेका प्रधानले बहुचर्चित शिवम् सिमेन्टको उद्योगमा मिटर बिगारेर सरकारलाई दैनिक लाखौं रकम घाटा लाग्ने बनाएको बताइएको छ ।
प्रकाशित मिति:
January 24, 2017