रामपुर ३ वैशाख । स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन् । यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त देखिएका छन् ।
सधैँ घरायसी काममा मात्र सीमित रहन बाध्य महिला आरक्षण कोटाले उनीहरु नगर तथा गाउँको नेतृत्व आफ्नो हातमा पार्नका निम्ति रातदिन चुनावी कसरतमा लागेका छन् । गाउँपालिका तथा नगरको टोल, गाउँ बस्ती, वडा वडामा पुगेर कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा महिला निकै उत्साहका साथ लागेका छन् ।
महिला नेतृत्वले महिलाका समस्या, हक अधिकारका कुराहरु सम्बन्धित क्षेत्रमा सम्बोधन हुने आशाले पनि महिलाले यसपटकको निर्वाचनलाई विशेष चासो र महत्वका साथ लिएका छन् ।
रामपुरकी विष्णु घिमिरे आचार्य अहिले नेपाली काँग्रेसबाट रामपुर नगरपालिकाको उपप्रमुख पदमा नेतृत्व गर्ने तयारीका साथ चुनावी प्रचारात्मक अभियानमा टोल, गाउँ, वडा र नगरभित्र जुटेकी छिन् । उनले आफूले उपप्रमुख पदको नेतृत्व गर्न पाएको खण्डमा महिलाका हरेक समस्या सम्बन्धित निकायमा पु¥याउने र महिला उत्थानका लागि विशेष काम गर्ने प्रतिबद्धता जनाएकी छिन । उनी भन्छिन् – “पार्टीगत रुपमा नहेरी असल नेतृत्वकर्ता योग्य उम्मेदवार छनोट गरेर मतदान गर्नुुपर्छ”।
नेकपा (एमाले) को तर्फबाट नगरको उपप्रमुख पदमा होमिएकी दुर्गा राना पनि यतिबेला चुनावी प्रचारमा गाउँ गाउँमा पुगेकी छिन् । महिला सधैँ पछाडि नै छन्, त्यसमा पनि जनजाति, दलित महिलाले कहिल्यै कुनै पनि स्थानमा नेतृत्व गर्ने अवसर नपाउँदा पछाडि परेको उनी बताउँछिन । उनले अबको निर्वाचनमा जनजातिको तर्फबाट आफूले नगरको उपप्रमुख पदमा नेतृत्व गर्ने दाबाका साथ चुनावी माहोलमा उत्रिएको बताइन ।
जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा यतिबेला पुरुषभन्दा महिला नेतृत्वकर्ताको चुनावी चहलपहल बढ्दो देखिन्छ । नगरपालिका, गाउँपालिकाका वडा वडामा उम्मेदवारको नाम दर्ता गराउने कार्यमा पनि महिलाको सङ्ख्या नै उल्लेख्य रहेको छ ।
Powered by Blogger.
निर्वाचनमा पुरुषभन्दा महिला सक्रिय बन्दै
प्रकाशित मिति:
April 16, 2017