जनप्रतिनिधिले रुचाएनन् सर्वसाधरणको निशुल्क पार्किङ, मेयर सापले उल्टाए महानगरपालिको निर्णय
काठमाडौं २ साउन
काठमाडौं महानगरपालिकाले केही वर्ष अघिदेखि सुरु गरको निःशुल्क पार्किङ जनप्रतिनिधि निर्वाचित भएको केही महिना बित्न नपाउँदै हट्नेमा पुगेको छ । सशुल्क पार्किङमा भद्रगोल र बेतिथि बढेसँगै काठमाडौं महानगरपालिकाले महानगरभित्र सबै ठाउँमा पार्किङ निःशुल्क गरेको थियो । महानगरपालिकाको निःशुल्क पार्किङ गर्ने व्यवस्थाले सर्वसाधरणले ठूलो राहत महसुस गरेका थिए । महानगरपालिकाले निःशुल्क पार्किङका लागि क्षेत्र र ठाउँ तोकेर रेजा नै लगाईदिएको थियो ।
तर, जनताबाट निर्वाचित जनप्रतिनिधिले भने महानगरपालिकाले सर्वसाधरणको हितमा हुने गरी गरेको निर्णयलाई उल्टाएर अब घण्टाको दुई सयसम्म पैसा तिर्नपर्ने पार्किङ शुल्क तोकेको छ ।
पार्किङ शुल्क लिन ‘काठमाडौं महानगरपालिका आर्थिक ऐन २०७४’ मा पार्किङ दर तोकेको छ । जसमा सवारीसाधन पार्किङ गरेबापत प्रतिघण्टा २ सय रुपैयाँसम्म लिइने उल्लेख छ ।
शनिबार सम्पन्न महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक ऐन पारित गरेको थियो। आर्थिक ऐनको अनुसूची १० मा पार्किङ शुल्क दर तोकिएको छ । जसमा दुईपांग्रे सवारीसाधनका लागि प्रतिघण्टा कम्तीमा १५ रुपैयाँ तोकिएको छ । तर न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टे, विष्णुमती लिंक रोड, टेकु हुँदै त्रिपुरेश्वरसम्मका क्षेत्रमा प्रतिघण्टा २० रुपैयाँ लिइनेछ । यस क्षेत्रमा चारपांग्रे सवारीसाधनबाट प्रतिघण्टा ५० र ६ पांग्रेबाट प्रतिघण्टा २ सय रुपैयाँ लिइनेछ । अन्य क्षेत्रमा भने चारपांग्रे सवारीसाधनबाट प्रतिघण्टा ४० र ६ पांग्रेबाट प्रतिघण्टा १ सय २० रुपैयाँ लिइनेछ ।
महानगरपालिकाले १ पुस २०७० देखि निःशुल्क पार्किङ सेवा सुरु गरेको थियो । महानगरपालिकाले अब ठेक्का प्रक्रियाबाटै पार्किङ शुल्क लिने देखिएको छ । तर जनप्रतिनिधिको निर्णयबाट अब यो हट्ने भएको छ ।
यसअघि, महानगरपालिकाका जनप्रतिनिधिले आफैंलाई मोबाइल किन्ने निर्णय गरेका थिए । जनप्रतिनिधिले स्वार्थमुखी काम गरेको भन्दै चर्को विरोधपछि महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले मोबाइल किन्ने निर्णय फिर्ता लिएका थिए ।
निशुल्क पार्किङ हटाउने विषयमा पनि जनप्रतिनिधिको व्यापक विरोध भईरहेको छ । पार्किङ ठाउँ टेन्डरमा दिएर कमिशन बटुल्न मेयरसहित जनप्रतिनिधिहरुले यस्तो नियम बनाएको आरोप सामाजिक सञ्जालमा लगाइएको छ ।
प्रकाशित मिति:
July 17, 2017