झापा १९ असार । झापाको अर्जुनधारा नगरपालिकाको मतगणनामा विवाद भएपछि समाधानका लागि निर्वाचन आयोगलाई पत्राचार गरिएको छ ।
दलहरुबीच विवाद बढेपछि समाधानका लागि आयोगलाई पत्रचार गरिएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले जानकारी दिए । “विवाद समाधानका लागि आयोगको निर्णय पर्खिरहेका छौँ”, निर्वाचन अधिकृत खतिवडाले भने, “आयोगबाट जे निर्णय हुन्छ, त्यही गर्छौं ।”
विवादका कारण मतगणना आइतबार दिउसो १ बजेदेखि स्थगित भएको थियो । आइतबार दिनभर दलहरुबीच सहमतिको प्रयास गरिए पनि असफल भएको छ । वडा नम्बर २ को मतपत्रको अर्धकट्टी र खसेको मत बराबर भेटिए पनि मत फारममा केरमेट भएको पाइएपछि विवाद भएको हो ।
सात सय ८८ मतपत्र रहेको वडा नम्बर २ को एउटा मत पेटिकामा उल्टो सिल लागेको र मत पेटिकाको मत र खसेको मतअन्तर भएको नेपाली काँग्रेसले आरोप लगाएको छ । काँग्रेसले धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै निवेदनसमेत दर्ता गराएको छ ।
नेकपा (एमाले)का नेता प्रेमसागर सापकोटाले मतगणना रोक्नुपर्ने कुनै विवाद नभएको बताए ।
असार १५ गते बिहान १० बजेदेखि अर्जुनधाराको मत गणना सुरु भएको थियो । अर्जुनधाराको वडा नम्बर १ मा एमाले र ३ मा काँग्रेसको प्यानल नै विजयी भइसकेको छ ।
Powered by Blogger.
अर्जुनधारा नपाको विवाद मिलाउन आयोगलाई जिम्मा
प्रकाशित मिति:
July 03, 2017