प्रधानमन्त्रीले भने- 'स्थानीय निर्वाचनको ढोका खुल्यो'
भरतपुर २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्यसँगै स्थानीय निर्वाचनको ढोका खुलेको बताएका छन् । सोमबार बिहान पूर्वी चितवनको बीरेन्द्रनगरमा जनयुद्धका शहिद तथा बेपत्ता योद्धाहरुको स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
स्तम्भ अनावरण गर्दै प्रधानमन्त्रीले संसदको गतिरोध अन्त्य भएको दाबी समेत गरे । 'हामीले असहमतिका बीच प्रक्रियामा सहमति खोजेका छौं, संसदबाट निर्वाचन सम्बन्धि विद्येयक अघि बढिसकेका छन्, अब स्थानीय निर्वाचनको ढोका खुल्यो, बैशाखमा निर्वाचन गर्ने गरी सरकारले छिट्टै स्थानीय निर्वाचनको मिति घोषणा गर्दैछ' उनले भने ।
कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिक निकासका साथै आर्थिक समृद्धिमा आफ्नो ध्यान गएको बताउँदै राजनीतिक स्थिरताले मात्रै विकासका काममा तिब्रता पाउने विचार व्यक्त गरे । राजनीतिक विवादका कारण विकास निर्माण र आर्थिक समृद्धिको खाका प्रभावित हुन नहुने उनको भनाई छ । उनले भने, 'मैले देशव्यापी रुपमा ठूला आयोजनाहरुको निरीक्षण र अनुगमन गरिरहेको छु । विकास र समृद्धिलाई केन्द्रमा राखेर देश दौडाहामा छु । अब कुनै पनि बहानामा विकासका काममा अवरोध गर्नु हुँदैन ।’
प्रकाशित मिति:
January 09, 2017