माओवादी सचिवालयको विस्तारित बैठक पेरिसडाँडामा जारी
काठमाडौं २ साउन । दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्न माओवादी केन्द्र सचिवालयको विस्तारित बैठक सुरु भएको छ ।
पेरिसडाँडास्थित पार्टी कार्यलयमा जारी बैठकमा स्थानीय तह निर्वाचनको मत परिणामको समीक्षा र संघ तथा प्रदेशसभा निर्वाचन रणनीतिबारे छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको बताइएको छ ।
यस्तै, बैठकमा सरकार विस्तार, संविधान संशोधन, प्रदेश र संघीय संसद्को निर्वाचनको तयारीका बारेमा समेत छलफल हुनेछ ।
माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारेपनि परिणाम सोअनुसार नआएको भन्दै त्यसको वस्तुनिष्ठ समीक्षा गर्ने जनाएको छ ।
प्रकाशित मिति:
July 17, 2017