नयाँ शक्तिका पाैडेललसहित १६ केन्द्रीय सदस्य माओवादीमा फर्किए, विप्लवका पनि ३०० कार्यकर्ता फर्किए
काठमाडौं
तत्कालिन एमाओवादीबाट विभाजनपछि बनेको नयाँ शक्तिमा रहेका बरिष्ठ नेता देवेन्द्र पौडेलसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
नयाँ शक्ति परित्याग गरेका पौडेल नेतृत्वको समूह मंगलबार औपचारिक रुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको हुन् । पौडेल पक्षले पार्टी प्रवेश नभएर नयाँ शक्ति पार्टी नेपाल र माओवादी केन्द्रबीचको ‘ध्रुविकरण’ भएको जनाएको छ ।
कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा परित्याग गरेका पदम खड्का जीवन नेतृत्वको समूह पनि माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
यसअघि परिवर्तनकारी शक्तिहरुबीच वृहत ध्रुविकरण आवश्यक रहेको भन्दै देवेन्द्र पौडेल नेतृत्वको समूहले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको साथ छाडेको थियो ।
केन्द्रमा रामबहादुर थापा बादलको नेतृत्वमा संयोजन कार्यदल समेत बनेको छ । कार्यदलमा देवेन्द्र पौडेल, परशुराम तामाङ, मातृका यादव, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार आले, पासाङ शेर्पा, विश्वभक्त दुलाल र विप्लव निकट नेकपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पदम खड्का छन् ।
पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्तिका नेताहरु परशुराम तामाङ, पासाङ शेर्पा लगायतले वर्गीय र जातीय मुद्धालाई वैज्ञानिक ढंगले समात्ने पार्टी माओवादी भएको र परिवर्तनको रक्षाका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने आवश्यकता बताएका थिए ।
कार्यक्रममा नयाँ शक्ति नेपालका १६ जना केन्द्रीय सदस्य र २७० भन्दा बढी केन्द्रीय परिषद सदस्य माओवादी केन्द्रमा ध्रुवीकृत भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । नेकपाबाट पनि माओवादी केन्द्रमा ३५० जना नेता–कार्यकर्ता प्रवेश गरेका छन् ।
प्रकाशित मिति:
August 23, 2017