देशभर अस्पतालको बहिरङ्ग सेवा बन्द
काठमाडौँ, २७ साउन । सरकारी चिकित्सक सङ्घ (गोदान) ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
बिहीबार आकस्मिक बैठक बसेर आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । सङ्घले यसअघि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
सङ्घका अध्यक्ष डा दीपेन्द्र पाण्डेले अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाएका छन् ।
सङ्घले अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर सेतो कागजमा लेखी बिरामी हेर्न चिकित्सकलाई अनुरोध गरेको छ । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरेपनि डा केसीका माग पूरा गर्न उदासीनता देखाएको सङ्घले आरोप लगाएको छ ।
सङ्घको निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रकाशित मिति:
August 11, 2017