सिंहदरबारका कुर्सी, टेबुल, भ¥याङ र फाइलसमेत महिलामैत्री भएनन् : मन्त्री कोइराला
काठमाडौं २७ भदौं
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले मन्त्रालयमा बस्ने कुर्सीदेखि बोक्ने फाइलसम्म महिलामैत्री नभएको बताएकी छिन् ।मन्त्रालयमा मंगलबार आयोजित महिला, बालबालिका तथा सामाजिक सरोकारका विषयमा कलम चलाउने पत्रकारहरुसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले नेपाली समाज पुरुषप्रधान रहेको र त्यसको प्रतिविम्ब सिंहदरबारमा पनि रहेको धारणा राखिन् ।
‘सरकारी कार्यालयहरूमा कुर्सी, टेबुल र भ¥याङ मात्र होइन, हामीले बोकेर हिँड्ने फाइलसमेत पुरुषमैत्री छन्’, उनले भनिन् । तीन दर्जन बढी संचारकर्मीहरू उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले महिलाले सानो हाते व्याग बोकेर हिँड्ने हुनाले मन्त्रालयका फाइलहरू व्यागमा नअटाउने र हातैमा बोकेर हिड्नुपर्ने समस्या रहेको बताइन् । ‘यहाँ जे जति संरचना बनेका छन्, ती सबै पुरुषमैत्री मात्र छन्’, मन्त्री कोइरालाले भनिन् ।
समाज कल्याण परिषदको अध्यक्षको कुर्सीमा बस्दासमेत आफूलाई अप्ठेरो हुने गरेको बताउँदै मन्त्री कोइरालाले मन्त्रीहरूले समेत यस्तो अप्ठेरो भोग्नुपरिरहेको अवस्थामा अन्यत्र काम गर्ने महिलाले झनै चुनौतीको सामना गर्नुपरेको बताइन् ।
महिलामाथिका विभेद र हिंसाले गर्दा महिलाहरू पछाडि परिरहेको भन्दै मन्त्री कोइरालाले विभेद र कुरीतिको अन्त्य र महिलामाथिका हिंसालाई नियन्त्रण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार टोली (¥यापिड, रेस्पोन्स र एक्सन टिम) गठन गर्नुपर्ने धारणा राखिन् । यसका लागि मन्त्रालयले आवश्यक योजना बनाइरहेको र निकट भविष्यमै सबै स्थानीय तहमा तत्काल उद्धार कार्यका लागि कर्मचारी, वकिल, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र नागरिक समाज रहेको एउटा टिम निर्माण गर्ने उनले बताइन् ।
कुनै पनि घटना घटेको २४ घन्टाभित्रै पीडितको उद्धार र घटना घट्न सक्ने संभावित स्थानमा सो घटना रोक्न पहलका लागि यस्तो टिम गठन गर्ने प्रतिबद्धता पनि उनले गरिन् ।
त्यसैगरी मन्त्री कोइरालाले सातवटै प्रदेशमा पुनःस्थापनाका लागि ल्याइएका महिला, बालबालिका, अपांग तथा ज्येष्ठ नागरिकलाई राख्न मिल्नेगरी बहुआयामिक पुनःस्थापना केन्द्र स्थापनाका लागि आफूले पहल गरिरहेको र पाँच स्थानमा तत्कालै बहुआयामिक केन्द्र संचालनमा आउने जानकारी दिइन् ।
समाजमा व्याप्त बोक्सी, छाउपडी, दाइजो र तिलक जस्ता कुरीतिजन्य प्रथाको अन्त्यका लागि निकै पहल गर्दा पनि संस्कार तोड्न नसकिएको र यसको अन्त्य गर्न आवश्यकताअनुसार सचेत धक्का दिनुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति:
September 12, 2017