एमालेले खोजेको के ? सरकार कि निर्वाचन !
काठमाडौं २ माघ
कतिपयले भन्ने गर्छन्, नेकपा एमाले सरकार बाहिर बस्नै सक्दैन । अहिले पनि उसले सरकारमा जान खोजिरहेको छ । त्यसो भए एमालेले गरेको अहिलेको बार्गेनिङ सरकारमा जानकै लागि हो त ? नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली एमालेको इच्छा सरकारमा जाने नरहेको बताउँछन् ।
तर, सरकार प्रवक्ता तथा सञ्चारमन्त्री राम कार्कीले भने आइतबर विराटनगरमा यस्तो खुलासा गरे जहाँ एमालेले घुमाउरो पारामा सरकारमा जान चाहेको भाव दिए । प्रवक्ता कार्कीले एमालेलाई सरकारमा सहभागी गराउने गरी छलफल भईरहेको बताएका थिए ।
एमाले सचिव ज्ञवाली आफूलाई सरकारमा जान कुनै इच्छा नभएको भन्दै यहीँ सरकारले निर्वाचन मिति घोषणा गरे पनि आफूलाई केही फरक नपर्ने तर निर्वाचन मिति घोषणा गरेर संविधान कार्यान्वयनमा जानुपर्ने बताउँछन् । उनले सरकारले निर्वाचन मिति घोषणा नगरेको आपत्ती समेत जनाए ।
स्रोतका अनुसार राष्ट्रपतिसँगको सर्वदलिय बैठकमा राप्रपाले सहमतिका लागि भन्दै सर्वदलिय सरकारको प्रस्ताव गरेको थियो । तर अन्य दलले सहमति आवश्यक रहेकोमा जोड दिए पनि सर्वदलिय सरकारको विषयलाई चासो दिएका थिएनन् ।
कांग्रेस नेता गोपालमान श्रेष्ठ सर्वदलीय सरकारको सम्भावना अहिलेकै अवस्थामा नरहेको बताए । ‘भए त राम्रै हुन्थ्यो, तर त्यो अवसर त फुत्कि सक्यो, अब अहिले नै त्यो सम्भावना मैले देख्या पनि छैन, भयो भने पनि चैत पछि मात्र हुन्छ ’ उनले भने ।
प्रकाशित मिति:
January 15, 2017