९८० निजामतीको पदमा साढे ५३ हजारको आवेदन
काठमाडौं २ माघ
लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी अर्थात शाखा अधिकृत अन्तर्गत ९८० पदका लागि साढे ५३ हजारको आवेदन परेको छ । यो संख्या मागेको सङ्ख्याभन्दा ५४ गुणा बढीले आवेदन फाराम परेको हो ।
आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा ५३ हजार ४१६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए ।
प्राविधिकतर्फ ६६ गुणा र अप्राविधिकतर्फ ४३ गुणाबढीले आवेदन फाराम भरेका छन् । प्राविधिकतर्फ ४७२ पदका लागि ३१ हजार ५१७ र अप्राविधिकतर्फ ५०८ जनामा २१ हजार ८९९ जनाले फाराम भरेका थिए । शाखा अधिकृत गौतम प्राविधिकतर्फ एउटै उम्मेदवारले धेरै विषयमा फाराम भर्ने भएकाले सङ्ख्या बढेको बताउँछन् ।
प्राविधिकतर्फ कात्तिकको अन्तिम साता र अप्राविधिकको मङ्सिरको अन्तिम साता अधिकृत तहका विभिन्न पदमा आवेदन माग गरिएको थियो । आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दर्खास्त आवेदन माग गरेको थियो । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्ने व्यवस्था समेत गरेको छ ।
प्रकाशित मिति:
January 15, 2017