तत्काल सरकार परिवर्तन हुने नहुने यस्तो छ खेल ! सेयर बजार घट्नमा राजनीतिक कारण कति ?
काठमाडौं २८ भदौं
सेयर बजार पछिल्लो पटक निरन्तर ओरालो लागिरहेको छ । कतिपयले सरकार परिवर्तन हुने खेल भईरहेको, त्यो खेलले निर्वाचन अन्योलमा पर्ने तथा राजनीतिक संक्रमण बढ्ने हुँदा त्यसको असर परेको भनेर समेत विश्लेषण गर्ने गरेका छन् । यथार्थ के हो त, विभिन्न सुत्रहरु भन्छन्, – ’यो गठबन्धन चुनावसम्म जान्छ ।’
माओवादी कांग्रेससँग थोरै रुष्ट
सरकारको मुख्य समर्थनकर्ता दल माओवादी केन्द्र कांग्रेससँग पछिल्लो पटक थोरै रुष्ट भने छ । माओवादीले अघि सारेको प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखकाे मुद्धामा कांग्रेसले साथ नदिएपछि माओवादी थोरै भएपनि कांग्रेससँग रुष्ट देखिन्छ । अझ, प्रधानमन्त्रीको भारत भ्रमण, सरकार विस्तार लगायत विषयमा पनि माओवादीले शंका व्यक्त गर्दै आएको छ । तर, संघ र प्रदेशको निर्वाचन अगाडी सरकारको साथ छाडिदिए निर्वाचन नहुने र प्राप्त उपलब्धी गुम्ने भन्दै माओवादीको भित्रि लाइन सरकारलाई समर्थन गरेर चुनाव सफल बनाउनु रहेको एक नेता बताउँछन् ।
वामदेव नाम अगाडी
यद्यपी, माओवादी केन्द्रका केही नेताहरुले भने कांग्रेस हदैसम्म पेलेको अवस्थामा भने सरकारबाट पछि हट्ने र सम्भव भए आफ्नै नेतृत्वमा नभए एमाले उपाध्यक्ष वामदेव गौतम वा अरु कसैलाई भए पनि प्रधानमन्त्री मानेर चुनावमा जाने विषयमा समेत छलफल गरेका थिए । अहिले भने यो विषय डिसमिस जस्तै छ ।
एमालेको जोड संघको निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार
स्थानीय तहको पहिलो निर्वाचनपछि नेकपा एमालेले वर्तमान सरकार भत्काउन हदै गरेको थियो । उसले बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई कांग्रेस माओवादी गठबन्धन भत्काउन जिम्मा नै तोकेको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्लक्क सत्ता हस्तान्तरण गरे । त्यतिबेला गठबन्धन भत्काउने एमालेको प्रयास विफल भएको थियो ।
एमालेले पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो दल बनेपछि प्रदेश र संघको निर्वाचनमा पनि पहिलो दल बन्ने भएकाले अहिलेलाई भने सरकार लडाउने खेल स्थगित गरेको छ । एमालेका केही नेता भने यो गठबन्धन भत्काउन पाए अझ राम्रो नतिजा ल्याउन सकिन्छ कि भन्नेमा रहेको समेत पाइएको छ ।
सेयर घट्नु बाह्य कारण
प्रदेश र संघको निर्वाचन मिति मात्र नभएर कार्यतालिका नै सार्वजनिक भईसकेकाले सेयर घट्नुमा सरकार परिवर्तन तथा अन्य राजनीतिक कारण नरहेको शेयरबजारका पण्डितहरु बताउँछन् । उनीहरु दशैंपछि सेयर उकालो लाग्ने दाबी समेत गर्छन् ।
प्रकाशित मिति:
September 13, 2017