शिर्ष नेता कोही छैनन् काठमाडौंमा, प्रधानमन्त्री देउवा, ओली, प्रचण्डदेखि रञ्जु दर्शना समेत प्रदेश दुईमा
काठमाडौं २८ भदौ
आसन्न २ असोजमा हुन गईरहेको प्रदेश दुईको स्थानीय तहको निर्वाचनका लागि शिर्ष सबै नेता प्रदेश दुईमा भोट माग्न पुगेका छन् ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन सातादेखि प्रदेश दुईमा छन् । उनी मात्रै होइन बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाले समेत प्रदेश दुई छाडेका छैनन् । सचिवालय सदस्य मात्र नभएर माओवादी केन्द्रका मन्त्री समेत प्रदेश दुईमा नै केन्द्रित बनेका छन् ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा समेत मंगलबार हिजो प्रदेश दुई पुगेका छन् । उनी ३० गतेसम्म चुनावी कार्यक्रममा व्यस्त रहने छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि लागयत नेता प्रदेश दुईमा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली समेत आज प्रदेश दुई जाँदैछन् । बरिष्ठ नेता माधव नेपाल, महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराई लगायतका नेता प्रदेश दुईमा नै खटिएका छन् ।
मधेसवादी दलका शिर्ष नेता तथा कार्यकर्ता समेत प्रदेश दुईमा नै खटिएका छन् ।
काठमाडौंबाट मेयर लडेकी विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना समेत भोट माग्न प्रदेश दुई पुगेकी छिन् । उनले बारामा पुगेर भोट मागिरहेका छिन् ।
प्रदेश दुईका निर्वाचन लगत्तै प्रदेश र संघको निर्वाचन आउने भएकाले पनि दलहरुले यस चुनावलाई विशेष जोड दिएको पाइएको छ ।
प्रकाशित मिति:
September 13, 2017