प्रचण्ड खटिएको सप्तरीमा निर्वाचन सुरक्षा व्यवस्था कडाइ
नेकपा माओवादी केन्द्रले शिर्ष नेताहरुको कार्यविभाजन गर्दा अध्यक्ष दाहाललाई सप्तरी खटाएको थियो । प्रदेश दुईका अन्य जिल्लासँगै प्रचण्ड अहिले धेरै जसो सप्तरीमा नै खटिएका छन् । त्यहीँ सप्तरीमा चुनावका लागि सुरक्षा तयारी कडा बनाइएको छ ।
त्यहाँ सुरक्षा व्यवस्था प्रचण्डका लागि भन्दा पनि जिल्ला भर २०७ अतिसंवेदनशिल क्षेत्र छुट्याइएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।
सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाइसकेको जानकारी दिँदै कुनै घटना हुन नदिनको लागि विशेष तालीम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
त्यस्तै, लागुऔषध र विस्फोटक पदार्थको खोजी गर्ने विशेष तालीम प्राप्त जर्मन शेफर्ड नामक कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनका लागि सप्तरी जिल्लामा करिब चारहजार नेपाल प्रहरी र दुईहजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
सप्तरी जिल्लामा १८ वटै स्थानीय तहमा करिब २९५ वटा मतदानस्थल रहेका छन् जसमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील रहेको बताइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यकासाथ जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
सप्तरीमा तीनलाख ३१ हजार ७९ मतदाता रहेकोमा एकलाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी रहेका छन् ।
प्रकाशित मिति:
September 13, 2017